ज्वाला संग्रौला पक्राउ: समाजसेवा गर्नेहरुको मुख थुन्ने काम !

असल काम गर्नेहरुलाई निरुत्साहित गर्न खोजिएको भन्दै विरोध

काठमाडौँ । पछिल्लो नेपालमा भइपरी आउने विभिन्न आपत विपदमा सहयोग गर्न निरन्तर खटिने युवा समाजसेवी मध्येकी एक हुन् ज्वाला संग्रौला । सिन्धुपाल्चोकका बाढी पहिरो पीडित होउन या, देशको दुरदराजमा विभिन्न रोगसँग लडिरहेका नेपालीहरु ।अथवा कोभिड महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण भोकै बस्नुपर्ने बाध्यता परेका नेपालीहरु हुन् ।

हरेक ठाँउमा ज्वाला अर्थात टीका संग्रौला र उनको टिम हृदय फुकाएर आफ्ना काम धन्दा छोडेर सहयोग गर्न पुगेको थियो । भलै कामको शिलशिलामा उनीहरुबाट केही गल्ती कमजोरीहरु हुन सक्लान, तर उनले गरेको सामान्य गल्तीलाई लिएर पूरै असल कामको हुनर्मत लिन खोज्न किमार्थ ठीक नभएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्काे आलोचना भएको छ ।

संग्रौलालाई पक्राउ गर्नुको कारण के थियो ?

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो । उनीहरुलाई हिरासतमा राख्न प्रशासनले पनि अनुमति दिएको छ ।

पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

पछिल्लो समय प्रहरीमाथि दुर्व्यवहार गरेको घट्ना बाहिर आएसँगै खुस्बुमाथि पनि उनीहरुले दुरव्यवहार गरेको घट्ना बाहिर आएको थियो । विदेशबाट रकम संकलन गरी विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेका उनीहरुमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ ।

तर ज्वालाले भने आफूमाथि उठेका प्रश्नहरुको सामाजिक सञ्जालबाट जानकारी दिएर माफी समेत मागेकी छिन् । राहत वितरण गर्न जानेक्रममा भूलवश आफूबाट प्रहरीमाथि प्रयोग हुन गएको भाष्य प्रति पनि उनले माफी मागेकी छिन् ।

एक महिना अघि भएको उक्त घट्नालाई लिएर अहिले पक्राउ गरी सामाजिक सेवा गर्न चाहनेहरुलाई निरुत्साहित गर्न खोजिनु ठिक नभएको पूर्व सचिब भीम उपाध्याय बताउाछन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले देश कृतघ्नताको चरम अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

उनले भनेका छन्ः मुसहर जस्ता निष्पट्ट गरिबलाई धुर्मुस, रबीहरूले राहत दिने वा घर बनाईदिने, हाम्रो टिम नेपालले देशै भरि पीडितको खबर पाए दौडिने, बेलायतबाट रातदिन खटिएर ईशाले सहयोग जुटाउने, ईजरायलबाट छिनछिनमा सुनिताले सहयोग पठाईदिने, हंगकंगबाट अनिताले सबैको मन जित्दै राहतका लागि रकम पठाईरहने। यता लक्ष्मी, चादनी, ज्वाला, हेम, बब्लु गुप्ता, अंशु यादव, मिलन, अर्जुन, ज्ञानेन्द्रहरूले पीडितहरूको घर आगनमा पुगेर मलम लगाउन कुदिरहने। यो मेरो मुलुक हो।’

यसबारे सरकार निकम्मा भएको संकेत गर्दै उनले यसरी थप्छन्ः

‘कोरोनाको मारमा परेकालाई महाबीरले सामाग्री जुटाईदिनुपर्ने, अक्सिजन, पीपीई दिलाई दिनुपर्ने।
मान्छेहरू जहॉतही पीडा दु:खले मरिरहेका छन्, तिनको उद्दार गर्न मतलब छैन, संवेदना छैन, आफू समाजसेवामा होमिनु छैन।
कसैले कही कतै ब्यक्तिगत केही गजबड अपशब्द बोलेको वा गरेको वा गर्न सक्छ, गर्यो होला । तर जात वा नश्लीयताको दारूको नसामा रमेर तरमार्न पल्केकाहरू भने राज्यनै तिनीहरू माथि खनिएझैँ स्यालहुईयॉ गरेका मात्र देखिन्छन्। मगज सडेपछि यस्तो हुन्छ नै।
अनि नेताहरू र तिनका चम्चेहरू, तिनका जुठोमा पालित पोषितहरू भने उल्टै समाज उद्दारकहरूलाई नै सराप्दै सोसल मिडिया रंगाउने। छी:छी:!
मेरो देश कृतघ्नताको चरम अवस्थाबाट गुज्रिरहेको छ।’

यस्तै पत्रकार रवि लामिछानेले पनि ज्वालासहितको टिमलाई गरिएको पक्राउको विरोध गरेका छन् । विगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न खोज्न उनले चेतावनी समेत दिएका छन् । उनले भनेका छन्, ‘बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ छु।’

उनले ज्वालाले गल्ती गरेको भए उनलाई सजायँ भने दिनुपर्ने बताए । ‘उनले लेखेका छन्, ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दिइएन र थप बुझ्न पाइएन।जाहेरीमा उल्लेख भए बमोजिम उनले गल्ती गरेकी रहिछन् र सो प्रमाणित भयो भने कडा भन्दा कडा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रिस पनि यहि मौकामा फेर्न,मुद्दा माथी मुद्दा चलाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अवसर दुबै पक्षलाई मिल्ने नै छ भन्नेमा दृढ छु।’

विदेशमा रहेका नेपालीबाट रकम संकलन गरेर संग्रौलासहितको टिमले देशका विभिन्न ठाँउमा समस्या परेका नेपालीहरुलाई राहत दिने र उद्धार गर्ने काम गरेका छन् । संकलन भएको रकम पनि उनीहरुले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेका छन् ।