युरोपमा कोभिड संक्रमण घट्दो,मापदण्ड खुकुलो बन्दै

लण्डन । झन्डै वर्षदिनदेखि ठप्प जस्तै रहेको युरोप विस्तारै खुल्दै गएको छ । कोरोना महामारीको संक्रमण दर घट्दो छ।
मानिसहरुको चहलपहल बाक्लो हुँदै गएको छ। बजार बिस्तारै खुल्दै छन्। लामो समयदेखि बन्द रहेका बार/रेस्टुरेन्टहरुमा ग्राहकहरु छिर्न थालेका छन्। समुद्रीतट र पार्कहरुमा घाम ताप्नेहरुको ताँती लाग्न थालिसकेको छ।

नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गर्दा झन्डै १ वर्ष थिलथिलो परेको युरोपमा भने घट्दै गएको छ। संक्रमणमा कमी आएसँगै युरोपका धेरै देशमा कोरोना नियन्त्रणका लागि कडा गरिएका मापदण्ड खुकुलो पारिँदै लगिएको छ।

अप्रिलको अन्त्यबाट युरोपका विभिन्न देशमा उच्च सावधानी अपनाउँदै लकडाउन लगायत मापदण्डलाई खुकुलो पारिएको छ। भ्याक्सिन लगाउने अभियान पनि तीब्र पारिँदै लगिएको छ। कोभिड–१९ महामारीको तेस्रो चरणपछि केही राहत मिलेको हो।

‘अहिले पोजिटिभ भाइब्स छ, समर सिजन सुरुसँगै अहिले युरोपमा कोभिडको संक्रमण दर घट्दो क्रममा छ,’ पोल्यान्डको सार्वजनिक राष्ट्रिय स्वास्थ्य सेवामा वरिष्ठ सल्लाहकार तथा विशेषज्ञ डा. उदयदेव आचार्यले भने, ‘युरोपका धेरै देशमा लकडाउन हटाइँदै छ, मापदण्ड पनि खुकुलो पारिएको छ।’

उनले कोभिडविरुद्ध मापदण्ड कडाइका साथ लागु गरिएको र भ्याक्सिन पनि तीब्र रुपमा लगाउन थालिएपछि संक्रमण दर घटेको जनाए। १ जना संक्रमितले अर्को स्वस्थ व्यक्तिलाई सार्ने सम्भावना अहिले कम्तीमा शून्य दशमलव ७ देखि बढीमा १ प्रतिशतसम्म मात्रै रहेको आचार्यले बताए।

यो औसत संख्यामा एक संक्रमित व्यक्ति भाइरसमा पास हुने व्यक्तिहरूको संख्या हो। यो सबै ‘केसहरूको संख्या’ र ‘मृत्युदर’ सँग सम्बन्धित छ। यो विभिन्न देशहरुमा फरक छ।

पोल्यान्ड र स्पेनमा अहिले यो दर शून्य दशमलव ७ प्रतिशत, जर्मनीमा शून्य दशमलव ७१ प्रतिशत, बेल्जियममा शून्य दशमलव ८१ प्रतिशत, युकेमा शून्य दशमलव ८८ प्रतिशत, फ्रान्समा शून्य दशमलव ८९ प्रतिशत, इटालीमा शून्य दशमलव ९५ र डेनमार्कमा १ प्रतिशत छ।

‘गएको १ वर्ष सुखद रहेन अहिले आएर पोजिटिभ संकेतहरु देखिएका छन्,’ पोल्यान्डको प्रेस्को सहरको अस्पतालका डाक्टर आचार्यले थपे, ‘मैले देखेसम्म युरोपमा धेरै कडाइका साथ मापदण्ड लगाइयो र भ्याक्सिन पनि दिन थालियो यसले राम्रो गर्‍यो।’

अहिले धेरै देशले भ्याक्सिन तीव्र रुपमा लगाइरहेका छन्। १ मेसम्म युरोपका धेरै देशले जम्मा जनसंख्याको थोरैमा २३ प्रतिशतदेखि बढीमा ५१ प्रतिशतसम्मलाई भ्याक्सिन लगाइसकेका छन्।