लिस्बन : (जीएनएन) पोर्चुगलमा एक सय साठी जना भन्दा बढी नेपालीलाई ठगी गर्ने गैरआवासीय नेपाली संघका एक जना नेता दश दिनदेखि भूमिगत भएका छन् ।
नक्कली हवाइ टिकट बिक्री तथा रेमिट्यान्स वापतको रकम ठगी गरेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका कोषाध्यक्ष बिक्रमजंग कुँवर यतिबेला कसैको पनि सम्पर्कमा छैनन् । नेपाली सम्बद्ध संघ संस्थादेखि स्थानीय प्रहरी समक्ष समेत उजुरी परेपछि कुँवर सम्पर्कविहीन भएका हुन् ।
पोर्चुगलमा बस्दै आएका नेपालीहरुले उनको खोजी गरेपनि कतै भेटिएका छैनन् । प्रयोग गर्दै आएको मोबाइल बन्द गरेका छन् भने फेसबुक पनि डिएक्टिभ गरेका छन् ।
पोर्चुगलको राजधानी लिस्बनस्थित आरोइसमा झण्डै तीन वर्षदेखि लक्ष्मी ट्राभल्स सञ्चालन गर्दै आएका कुँवरले सोही ट्राभल्सबाट रेमिट्यान्सको पनि काम गर्दै आइरहेका थिए ।
उनले पटक पटक गरी हालसम्म एक सय साठी जना नेपालीलाई ठगी गरेको खुलेको छ । लिस्बनस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासका अनुसार, कुँवरले ठगी गरेको भन्दै एक सय साठी जनाले उजुुरी गरेका छन् । प्रारम्भिक बिबरण अनुसार, कुँवर एक लाख पचास हजार यूरो ठगी गरेको खुलेको छ ।
सम्पत्ति रोक्का गर्न आग्रह
गत साता एकै पटक एक दर्जन भन्दा बढी नेपाली एकसाथ ठगिएपछि कुँवरको ठगी धन्दा सार्वजनिक भएको हो । पीडितहरुले कुँवरले सञ्चालन गरेको ट्राभल्स घेराउ गर्दै क्षतिपूर्तिका लागि माग गरेपछि लिस्बनमा हंगामा मच्चियो ।
एउटै कम्पनीबाट यति ठूलो संख्यामा नेपालीहरु ठगिएपछि महावाणिज्य दूतावासको संयोजनमा गैरआवासीय नेपाली संघसहित स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठक बस्यो ।
उक्त बैठकपछि महावाणिज्यदूत मकरबहादुर हमालले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासमार्फत कुँवरको नेपालमा रहेको सबै चल अचल सम्पत्ति रोक्का गर्न नेपाल सरकारलाई आग्रह गर्दै पत्र लेखेका छन् ।
पेरिसस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने र परराष्ट्रको आग्रहमा सम्बन्धित निकायले कुँवरको नाममा नेपालमा रहेको सम्पत्ति रोक्का गर्ने जनाइएको छ ।
ठगीमा संलग्न कुँवर एनआरएन, एनसीसीका कोषाध्यक्ष भएकाले एनआरएनले नै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने कतिपय पीडितहरुको माग रहेको छ ।
एनआरएनए एनसीसी पोर्चुगलका अध्यक्ष तिलक गैरेले भने सबै पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन संघले नसक्ने भन्दै कुँवरको खोजी भइरहेको बताएका छन् ।
कुँवरको ठगी धन्दा
पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले उनको ट्राभल्समार्फत नेपाल पठाउने रकम र नेपाल जाने आउने टिकटको शूल्कमा कुँवरले ठगी गरेका हुन् ।
सन् २०१९–२१ कार्यकालका लागि कोषाध्यक्ष चुनिएका कुँवरले त्यस अगावैदेखि ट्राभल्स सञ्चालन गरेका हुन् । कोषाध्यक्ष भएपछि उनको कारोबार थप फस्टाएको थियो ।
सेवाग्राहीको संख्या वृद्धि भएसँगै कुँवरले ठगी गर्न थालेका हुन् । टिकट विक्री र रेमिट्यान्सको रकममा यसअघि पनि केही मानिसलाई ठगी गर्ने गरेकोमा आपसी सहमतिमा मिलाउने गरिएको थियो ।
तर, पछिल्लो पटक एकसाथ धेरै जना ठगिएपछि उनको ठगी धन्दाको पर्दाफास भएको हो ।
पैसा लिएर नक्कली हवाइ टिकट दिने र नक्कली भौचर बनाई नेपाल पैसा पठाएको बताउने कुँवर यसपटक भने उम्किन सकेनन् ।
कुँवरद्वारा ठगिएका कतिपय नेपालीहरु यसैसाता नेपाल पुगेका छन् । नेपाल पुगेकाहरुले कुँवर विरुद्ध नेपालमा पनि मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
कहाँ छन् कुँवर ?
करिव पाँच वर्षअघि पोर्चुगल आएका कुँवर पछिल्लो समय राजधानी लिस्बन भन्दा केही बाहिर तर, नजिकैको शहर अल्भेर्कामा बस्दै आएका छन् ।
ठगी प्रकरण सार्वजनिक भएपछि उनी केही दिन पोर्चुगलकै एक प्रख्यात पर्यटकीय क्षेत्र अल्गार्भ गएको र त्यहाँबाट फेरि फर्केर अल्भेर्का नै आएको बताइएको छ । अल्भेका तुलनात्मक रुपमा कम संख्यामा नेपालीहरु रहेको शहर हो ।
सार्वजनिक रुपमा हिँडडुल गर्दा खतरा हुने भएकाले उनी केही निकटस्थहरुसँग मात्रै सम्पर्कमा रहने गरेको बताइएको छ । विशेषगरी एनआरएन अध्यक्ष गैरे र वरिष्ठ उपाध्यक्ष भीमसेन थापासँग उनको नियमित सम्पर्क रहेको बताइए पनि कुनै पनि पदाधिकारीले कुँवरको अवस्थाका बारेमा अनभिज्ञता प्रकट गर्ने गरेका छन् ।
कुँवरले ठगी गरेको रकम पोर्चुगलकै विभिन्न बैंकका खातामा रहेको र सोही रकम निकालेर पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ । तर, कुँवर सम्पर्कविहीन भएकाले उनको खातामा कति रकम छ भनेर अरु कसैले जानकारी पाएका छैनन् ।
भूमिगत भएका कुँवरको खोजी गरी बैंक खातामा रहेको रकम निकालेर पीडितहरुलाई बुझाउने पहल गरिदिन पीडितहरुले महावाणिज्य दूतावास र एनआरएनएलाई आग्रह गरेका छन् । कुँवर भूमिगत भएपछि उनले सञ्चालन गर्दै आइरहेको लक्ष्मी ट्राभल्स पनि बन्द छ ।






