बेलायतमा जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब संकलन :

juhana

लण्डन । नेपालका भुकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब रुपियाँ संकलन भएको छ । अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) ले म‌ंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो । सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् । डिइसीमा शुरुमा उठेको उठेको करिब ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको थियो । ‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट स‌ंकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ । जोअना लुम्ले सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् ।  कमिटीका कार्यकारी निर्देशक सालेह सइद भन्छन्, “बेलायतका जनताले प्रकोपबाट जीवन तहसनहस भएका मानिसहरुलाई सहयोग गरेर फेरि एकपटक उदार मन देखाएका छन् ।” नेपालको भुकम्पका लागि उठेको यो सहयोग राशीले यसअघि फिलिपिन्समा आएको आाधी, पूर्वी अफ्रिकाको समस्या, हैटीको भुकम्प र पाकिस्तानमा आएको बाढीमा प्रभावितहरुका लागि युकेमा संकलन भएको सहयोग राशीको रेकर्डलाई तोडेको छ । बेलायतमा यसबाहेक पनि धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नेपालीहरुले नेपालका भुकम्प पीडितहरुको लागि सहयोग संकलन गरिरहेका छन् । तिनीहरु सबैले संकलन गरेको सहयोग जोड्ने हो भने अर्बौ हुन जान्छ । यसअघि म‌ंगलबार अभियानको घोषणा गर्दै लुम्लेले भनेकी थिइन्, ” नेपाल हजाराैँ वर्षदेखिको प्राचीन सँस्कृति बोकेको मुलुक हो तर भुकम्पको केही सेकेण्डको झट्काले यसको इतिहास माटोमा मिलाइदियो । भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव वर्षाैँ रहने छ ।” उनले थपिन्,”मेरा पिताले गोरखाहरुसित काम गर्नुभो गोरखाहरुले दुईसय वर्षसम्म बेलायतका लागि आफ्नो ज्यान अाहुति दिए अब उनीहरुलाई सहयोग गर्ने हाम्रो पालो आयो ।”