पोर्चुगलमा नक्कली टिकट बेच्ने विक्रमजंग कुँवरको घरजग्गा रोक्का गर्ने तयारी

दिल निसानी मगर लिस्बन,हवाई जहाजको नक्कली टिकट बेचेर स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेर हाल फरार रहेका एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजंग कुँवरको चलअचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरू भएको छ ।

त्यसका लागि सर्वपक्षीय बैठकको आयोजना गरेर पोर्चुगलस्थित नेपाली काउन्सिलरले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ ।
बिहीवार काउन्सिलरको कार्यालयमा दर्जनौं पीडित र सामाजिक संघसंस्थाका प्रतिनिधि छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार ठगी कति र कसरी भएको हो त्यसबारे काउन्सिलरले फ्रान्सस्थित नेपाली दूतावासमा लिखित रूपमा जानकारी पठाउने र दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा कुँवरलाई कारबाहीका लागि सिफारिस गरिने छ ।
पीडितले पोर्चुगल प्रहरीमा कुँवरबारे उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरका प्रतिनिधिले जिम्मेवारी लिएर लडिदिने पहलकदमी समेत अगाडि बढेको छ ।

लकडाउनबीच अनेकौं दुःख सहेर बिदा मनाउन नेपाल फर्किन लागेका श्रमिकलाई आर्थिक, पारिवारिक सबै हिसाबले समस्या हुने भएका कारण कानूनी प्रक्रियाको सम्पूर्ण जिमेवारी राज्यको निकायले लिनुपर्ने तनहुँ समाजकी अध्यक्ष बिनु बस्नेतले बताएकी छन् ।
विगतमा पनि उनले कोरोना कोष तथा रेमिट्यान्समार्फत लाखौं ठग्ने गरेका उजुरीहरू पनि प्राप्त भइरहेका छन् ।

सहज रूपमा पैसा ठग्न नसके हातपातमा समेत उत्रिन पछि नपर्ने कुँवरबाट धेरै नैपालीहरू पीडित भए पनि उनलाई पोर्चुगलमा ठगी गिरोहबाट निरन्तर संरक्षण हुँदै आएको थियो ।

गैरआवासीय नेपाली संघ पोर्चुगल, जनसम्पर्क समिति पोर्चुगल, जनप्रगतिशील मञ्च, नेपाली महिला समाज, बागलुङ समाज, तामाङ समाज, लमजुङ समाज, म्याग्दी प्रवासी नेपाली संघ (मोना) लगायतले नक्कली टिकट काण्डका सन्दर्भमा पोर्चुगलमा रहेका दर्जनौं संघसंस्थाले विज्ञप्ति जारी गरेर कडा विरोध जनाएका छन् ।

पोर्चुगलमा ठगीधन्दामा बादशाह मानिने विक्रमजंग कुँवरलाई कानूनको कठघरामा उभ्याएर जसरी भएपनि पीडितलाई न्याय दिलाउनुपर्ने सामाजिक अगुवाको माग छ । कुँवर हाल फरार छन् ।