एनआरएनले भूकम्प पिडीत १० हजार परिवारलाई ,१० करोड राहत दिने :

nrna_logo_latest

हजारौंको ज्यान जाने गरी आएको बिनाकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका छन् ।

गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १० करोड रुपैयाँ संकलन गर्ने तयारी गरिरहेका छन् । जसबाट उनीहरुले राहत नपुगेका दुर्गम बस्तीहरुमा पुगेर कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने तयारी गरिरहेका छन् ।

एनआरएनले भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई राहत प्रदान गर्ने तयारी गर्दै छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको गैरआवासीय नेपाली संघ भूकम्प पिडीत राहत समितिको वैठकले राहत रकम र जिल्ला निर्धारण गरेको हो ।

यसअघि एनआरएन आईसीसीको वैठकले भूकम्प पिडीतलाई राहत प्रदान गर्न संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा राहत समिति गठन गर्दै संसारभरका नेपालीलाई एनआरएन राहत संकलन अभियानमा सहभागी हुन आह्वान गरेको थियो । साथै वैठकले केन्द्रीकृत राहत रकम संलकन गरी एनआरएनकै पहलमा पिडीतहरुसमक्ष राहत रकम पुग्नेगरी अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

साथै वैठकले भूकम्पग्रस्त क्षेत्रमा महामारी फैलिने र त्यसले फेरी पिडीतलाई थप पिडामा पार्ने सम्भावना रहेकाले करिव एक हजारको संख्यामा स्वास्थ्यकर्मीलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि अष्ट्रेलिया, बेलायत लगायतका केही मुलुकबाट स्वयंसेवक स्वास्थ्यकर्मीहरु काठमाण्डौ आउनेक्रममा छन् । बैठकले नेपालमा काम गर्ने अनुमति भएका गैरआवासीय नेपाली स्वास्थ्यकर्मीलाई स्वयंसेवी अभियानमा सहभागी हुन आह्वान गरेको छ ।