काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद् योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धम्कीपूर्ण भाषा नबोल्न चेतावनी दिएका छन् ।
मंगलवार दिउँसो पत्रकार सम्मलेनमा बोल्दै उनले यो बुद्धको देशमा शान्तिको भाषा हुने भन्दै धम्कीको भाषा बोल्ने क्रम बन्द गर्न आग्रह गरे ।
उनले भने, ‘प्रधानमन्त्रीलाई म यति भन्छु कि यो बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन। तपाईंको भाषा शक्तिको भाषा हो। त्यो भाषा बदल्नुस्। शान्तिको भाषा बोल्नुस्।’
आफूहरु धम्की र कारवाहीबाट नडराउने उनको भनाई छ ।
‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’ उनले भने, धम्कीको भाषा नबोलौँ, संयमताका साथ अघि बढौँ भन्ने हाम्रो मान्यता हो ।
त्यसैगरी नेता भट्टराईले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न समेत आग्रह गरे ।
‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’ उनले भने ।
त्यसैगरी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको भेलाले पार्टीलाई विभाजनतर्फ धकेलेको समेत स्पष्ट पारेको छ ।
बुधबार र बिहीबार काठमाडौं गर्न लागिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा माधव समूहका नेताहरूले विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् ।
त्यसैगरी उक्त समूहले प्रेस विज्ञप्ती जारी गर्दै एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनःस्थापना हो भन्ने कुरा स्पष्ट भएको समेत बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, – ‘नेकपा (एमाले) पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनःस्थापना हो भन्ने कुरा स्पष्ट छ। यति हुँदाहुँदै पनि आफूखुशी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन्। यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौं र राष्ट्रिय कार्यकर्ता भेलामार्फत् हामी यो सन्देश आधारभूत तहसम्म पुर्याउन चाहन्छौं।’






