निर्णयबाट पछि हट्दिनँ : श्रम राज्यमन्त्री

काठमाडौं, २८ आषाढ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले ‘फ्रि भिसा र टिकटको निर्णय कामदार र मुलुकको हीतका लागि भएको राष्ट्रिय निर्णय भएकाले यसलाई पालना गरी काम थाल्न’ व्यवसायीहरुलाई आग्रह गरेका छन् ।‘लामो गृहकार्य गरेर मुलुकको लागि अत्यावश्यक भएरै यो निर्णय भएको’ पनि उनले बताएका छन् ।
‘यस क्षेत्रमा धेरै विकृति आएको र यसलाई सुधार गर्न धेरैअघि नै गरिनुपर्ने निर्णय बल्ल गरिएकाले व्यवसायीहरुले यसकाविरुद्ध काम बन्द गरेर आन्दोलनमा उत्रनुको कुनै तुक नभएको’ पनि उनको भनाइ छ । मन्त्रालयमा सोमबार वैदेशिक रोजगार पत्रकार समाजले गरेको कार्यक्रममा मन्त्री गुरुङले ‘यो निर्णयले कामदार व्यवसायी र राष्ट्र कसैलाई पनि अहित नगर्ने’ उल्लेख गरे ।
‘गलत नजरले हेरिने यो क्षेत्रलाई एउटा सिस्टममा ल्याएर यस क्षेत्रकै गरिमा बढाउन यो निर्णय लागू गरिएको र अरु थुपै्र सुधार गरिँदै जाने’ पनि मन्त्री गुरुङले दाबी गरे । ‘व्यवसायीलाई निर्णय चित्त नबुझेको भए छलफल गर्ने पर्याप्त समय हुँदा पनि उनीहरुले वास्ता नगरी चुनावको नारा बनाउनपट्टि लागेकाले केही अप्ठेरो परेको हुनसक्ने’ उनको तर्क छ । सरकारले गत आषाढ २१ गतेदेखि मलेसियालगायत खाडीका अन्य ७ मुलुकमा टिकट र भिसा शुल्क कम्पनीले नै उपलब्ध गराउनेमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेसँगै वैदेशिक रोजगार व्यवसायीहरु काम ठप्प गरी आन्दोलनमा उत्रिएका छन् ।
‘३ करोड नेपाली खुसी भएको निर्णयकाविरुद्ध बढी पैसा लिन पाउनुपर्छ भन्दै आन्दोलन गरी व्यवसायीले आफ्नो छवि थप नबिगार्ने’मा आफू ढुक्क रहेको राज्यमन्त्री गुरुङले बताए ।
२० गतेसम्म झन्डै ९० हजारले पूर्वस्वीकृति लिइसकेको र १२ हजार बराबरको भिसा नै आइसकेको मन्त्रालयको दाबी छ । व्यवसायीले काम रोकेर यत्रो संख्यामा कामदारलाई दुःख दिनु उचित नभएको मन्त्रीले उल्लेख गरे ।
यी सातै मुलुकमा सरकारले भ्रमण गरी श्रम सम्झौताको तयारी गरिरहेको भन्दै उनले भ्रमणमा सँगै जान व्यवसायीलाई पनि आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष टीबी कार्कीले पनि संघले सधैं उठाउँदै आएको विषय बल्ल आएर सम्बोधन भएको भन्दै निर्णयको स्वागत गरेका थिए । यसैबीच, पुनरावेदन अदालत पाटनले पनि निर्णयकाविरुद्ध व्यवसायीले हालेको रिट खारेज गरिदिएको छ ।