काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ताटोली गठन गरेको घोषणा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले आज दुई सदस्यीय वार्ताटोली घोषणा गरेको हो ।
वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । सूचना तथा सञ्चारप्रविधिमन्त्री पार्वत गुरुङले बिज्ञप्ति जारी गर्दै वार्ताटोली घोषणा भएको जानकारी दिएका हुन् ।
दुई दिनअघि मात्रै प्रधानमन्त्री ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव समूहसँग छिट्टै वार्ता हुने बताएका थिए ।
यसैवीच सरकारले बार्ता टोली गठन गरेसँगै विप्लवपक्ष पनि बार्ताको लागि तयार भएको छ । विप्लव निकट स्रोतले सरकारले वार्ता टोली घोषणा गरेकाले स्वाभाविक रुपमा आफूहरु वार्ताको लागि तयार भएको र वार्ता टोली बनाउने तयारी भइरहेको जनाएको छ ।
एक साताअघि मात्रै विप्लवले विज्ञप्ति जारी गर्दै आफू वार्ताका लागि तयार भएको बताएका थिए । उनले त्यसका लागि सरकार इमान्दार हुनुपर्ने र आफूलाई शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार हुनुपर्ने सर्त राखेका थिए ।
सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले वार्ता टोली घोषणा गरेको हो । विप्लव नेकपामाथि ०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।






