बेलायतमा ओली समूहका अध्यक्ष गुरुङद्वारा आफूहरु आधिकारिक भएको दाबी

शिब भण्डारी

लण्डन । बेलायतमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूह निकट प्रवासी नेपाली एकता मञ्च यूकेले भक्त गुरुङको नेतृत्वमा पुनर्गठन गरिएको संगठन प्रवासी नेपाली एकता मञ्च कार्यसमिति विस्तार गरेको छ ।

गत ७ फेब्रुअरी २०२१ का दिन विभाजन भई भक्त गुरुङको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमार्फत् कार्यसमितिलाई पूर्णता दिएको हो ।अध्यक्ष गुरुङले पार्टीमा आफ्नो पक्षमा बहुमत सदस्यहरु रहेकाले पार्टीको आधिकारिकता आफूहरुसँग हुनुपर्ने दावीसहित कार्यसमिति विस्तार भएको बताउँदै नयाँ कार्यसमिति अब १२५ सदस्यीय भएको जानकारी दिए ।

उपाध्यक्ष तुंग भुसालको स्वागत रहेको कार्यक्रमको सञ्चालन महासचिब सुरेशजंग शाहले गरेका थिए भने पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष गुरुङ, वरिष्ठ उपाध्यक्षहरु सुरेन्द्र थपलिया र विनोद ज्ञवाली, पूर्व अध्यक्ष एवम् सल्लाहकारहरु आकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिम्खडा लगायतले मन्तव्य राख्दै पत्रकारका जिज्ञासाको  जवाफ अध्यक्ष गुरुङले दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेसँगै विभाजित बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका भातृ तथा शुभेच्छुक संगठनहरु पनि विभाजित हुने क्रम बढीरहेको छ ।

आफूहरु नै आधिकारिक भएको दावी

नेपालमा दुवै नेकपा पक्षले आफूहरुलाई नै आधिकारिक दावी गर्दै आइरहेको समयमा बेलायतमा पनि सोही परिवृति देखिएको छ ।आइतवार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष भक्त गुरुङले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्यहरु रहेकाले पार्टीको आधिकारिकता आफूहरुसँग हुनुपर्ने दावी गर्दै अरुमा भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

‘हाम्रो संस्था कुनै राजनीतिक दलको भातृसंस्था होइन । तथापि, हामी नेपालका लोकतान्त्रिक, प्रगतिशील र देशभक्त विचारहरुलाई अंगीकार गर्ने सामाजिक तथा राजनीतिक शक्तिहरु मिलेर देशको उन्नति प्रगतिमा लागुन् भन्ने कामना गर्दछौं । हामी देशमा जकडिएर बसको अविकसित प्रणाली, पछौटेपन, सामाजिक कुरितिहरु उन्मुलन भई समृद्ध र सभ्य समाज बनुन् भन्ने चाहना राख्छौं र त्यस दिशामा अघि बढ्ने शक्तिहरुको पक्षमा उभिन चाहन्छौं’, गुरुङले भनेका छन्, ‘यस अर्थमा, यो संस्थामा रहेका हामीहरुले नेपाली समाजको अमूल रुपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मूल मन्त्रलाई राष्ट्रिय संकल्प बनाई अघि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदमहरुको समर्थन गरेका हौं ।’

एनआरएनए आईसीसी सदस्यबाट राजीनामा

अध्यक्ष गुरुङले गैरआवासीय नेपाली संघ एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी सदस्यबाट पनि राजीनामा दिएका छन् ।आइतवार पत्रकार सम्मेलनको क्रममा गुरुङले मञ्चको अध्यक्ष जिम्मेवारी लिएको र यतै बढी समय दिनुपर्ने भएको कारण एनआरएनए आइसीसी सदस्यबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।