बेलायती प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिवीच फोनवार्ता, सम्बन्ध थप मजवुत बनाउन सहमति

लण्डन । अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ ।

उनीहरुवीच जलवायु परिवर्तन समेतका जल्दाबल्दा मुद्दाहरुको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति भएको बताइएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति जुटेको हो ।

प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुबै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाईमा पु–याउन कुनै कसर बाँकी नराखिने बताएका थिए ।

बेलायती अखबारहरुले बाइडेनले फोन सम्पर्क गरेका युरोपका नेतामध्ये बेलायती प्रधानमन्त्री जोन्सन पहिलो युरोपेली नेता रहेको जनाएका छन् । बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरेका थिए ।

यसअघि सन् २०१९ मा राष्ट्रपति बाइडेनले चुनावी प्रचारका क्रममा जोन्सनमाथि व्यंग्य गर्दै उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको छायाँको रुपमा रहेको बताएका थिए ।

फोनवार्ताका क्रममा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री जोन्सनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेनले लिएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गरे ।