पोखरामा ‘हट एयर बेलुन’ले बढायो पर्यटकीय आकर्षण

londonnepalnews

पोखरा : पर्यटकीय शहर पोखरामा शनिबारदेखि हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल किनारमा भएको हट एयर बेलुनको पहिलो उडानमा उडेर व्यवसायिक उडानको उद्घाटन गरेका हुन्।
९ तालको शहर पोखराको आकाशमा पर्यटकलाई बेलुनमा उडाएर अन्नपूर्ण हिमश्रृंखला र पोखराको दृश्यावलाेकन गराउने उद्देश्यले बेलुन नेपाल प्रालिले व्यवसायिक उडान सुरु गरेको हो। सन् २०१० मा पोखरामा हट एयर बेलुन फेष्टिभल भए पनि व्यवसायिक उडान भने भएको थिएन।

 

२५ देखि ३५ वर्ष उमेरका ५ जना युवा व्यवसायीले डेढ करोड लगानीमा दुईवटा हट एयर बेलुनबाट व्यवसायिक उडान सुरु गरेका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल नागरिक उड्डयान प्राधिकरणसँग ५ वटा हट एयर बेलुन उडाउने अनुमति लिई व्यवसायिक उडान सुरु गरिएको बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रबिण महर्जनले जानकारी दिए।

हट एयर बेलुनमा उडेर ५ सय मिटर उचाईसम्म उडान भर्ने गरि व्यवस्था मिलाईएको छ। साहसिक खेलको राजधानीको रुपमा विकास भएको पोखरामा हट एयर बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प पनि सञ्चालन गर्ने लक्ष्य रहेको प्रबन्धनिर्देशक महर्जनले बताए। पोखरामा साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, जिप लाइन लगायतका साहसिक खेल हुँदै आएको छ।

हट एयर बेलुनकोसमेत व्यवसायिक उडानले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे। गण्डकी प्रदेशमा पाँच वर्षभित्र पोखराको जनसंख्या बराबर पर्यटक ल्याउने प्रदेश सरकारको लक्ष्य रहेकोले यस्ता साहसिक खेल पर्यटनले प्रदेशको पर्यटन विकासमा सहयोग पुग्ने मुख्यमन्त्री गुरुङले बताए। गण्डकी प्रदेशमा २४ लाख जनसंख्या रहेको छ।

हट एयर बेलुन कास्कीको माछापुच्र्छे गाउँपालिकाको धम्पुस र पोखरा महानगरपालिकाको लौरुकबाट बिहान सूर्योदय अवलोकन गर्ने गरि उडान भरेर एक घण्टा दृश्यावलोकन गराउने व्यवस्था मिलाइएको छ। यसरी उडेको बेलुन पोखराको दृश्यावलोकन गर्दै हेम्जा र मादीखोलाको किनारमा अवतरण गर्ने प्रालिका निर्देशक महर्जनले बताए।

हट एयर बेलुनको सुरक्षित उडान गर्नका लागि दक्ष पाइलट र इन्जिनियर नियमित खटिने उनले बताए। उनले बेलुन उडानमा सहभागीको २० हजार अमेरिकी डलरको इन्सुरेन्स रहेको जानकारी दिए। ठुलो हट एयर बेलुनमा ८ जना र सानो हट एयर बेलुनमा ६ जना उड्न सक्ने क्षमताको भएको महर्जनले जानकारी दिए। बेलुन ६ देखि ८ किलोमिटर प्रति घण्टा उड्ने बताइएकाे छ।

हट एयर बेलुनको व्यवसायबाट २५ जनाले रोजगारी पाउने भएका छन्। बेलुनको व्यवसायिक उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग हट एयर बेलुन खरीद गरेको हो। व्यवसायिक उडानको अवस्था हेरेर प्रालिले थप तीनवटा बेलुन पनि थप्ने लक्ष्य राखेको प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए।

हट एयर बेलुनमा उडेर दृश्यावलोकन गर्न नेपाली पर्यटकलाई प्रतिव्यक्ति एक घण्टाको ११ हजार रुपैयाँ र विदेशी पर्यटकलाई १ सय ६० डलर लाग्ने व्यवस्था प्रालिले गरेको छ। २५ मिनेटको थेथर फ्लाइटको नेपालीलाई ६ हजार र विदेशीलाई ९० डलर लाग्ने छ। यसैगरी स्पेशल थेथर फ्लाइट २५ मिनेटको नेपालीलाई ३३ सय र विदेशी पर्यटकलाई ४ सय ५० अमेरिकी डलर लाग्ने छ। स्पेशल फ्रिफ्लाइट १ घण्टाको नेपालीलाई ६३ हजार र विदेशीलाई ८ सय ४० डलर लाग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *