केशब भण्डारी
लण्डन । गुल्मी जिल्ला समाज यूकेले बार्षिक रुपमा मनाउने च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । विश्व अपाङ्गता दिवसका अवसर पारेर आइतबार अनलाइन जुम मार्फत च्याारिटी कार्यक्रम गरिएको हो । विगतका वर्षहरुमा भव्य रुपमा समारोह गरिने भएपनि यसपटक कोरोनाभाइरस महामारीको कारण अनलाइनबाटै सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष टोप पल्लीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले संस्थाले अपाङ्गता भएका मानिसहरुको कल्याणको निम्ती निकै ठूलो काम गरेको भन्दै अन्य क्षेत्रमा समेत यो संस्थाले गरेको काम प्रशंसनीय रहेको उनले बताइन् । मानविय सेवाको काम गर्न पैसा नभई आँट र इच्छा चाहिने भन्दै उनले यसप्रकारको कार्यमा संलग्न सबैलाई धन्यवाद समेत दिइन् ।
त्यसैगरी कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी गुल्मी स्थित आशा अपाङ्ग केन्द्र तम्घासकी प्रमुख गंगा रायमाझी,ब्लाइन्ड रक्स नेपालकी सृष्टि केसी,र किर्तिमानी आरोही हरि बुढाले शुभाकामना मन्तव्य दिंदै परोपकारका क्षेत्रमा गुल्मी जिल्ला समाजले गर्दै आएका कार्य समाज र देशका लागि समेत अनुकरणीय रहेको बताए ।कार्यक्रममा आशा अपांग केन्द्रकी सञ्चालिका रायमाझीले केन्द्रको हिसाबकिताब प्रस्तुत गरेकी थिइन् ।सो अवसरमा सकारात्मक सोच प्रेरक वक्ता श्रृष्टि केसीले फरक क्षमता भएका व्यक्तिहरुको निम्ती सन्देशमूलक प्रेरणादायी मन्तव्य ब्यक्त गरेकी थिइन् ।
समाजले अपांगता दिवसका अवसरमा च्यारिटी कार्यक्रम गर्न शुरु गरेको दश वर्ष पुगेको खुशीयालीमा अध्यक्ष टोप पल्ली संस्थापक अध्यक्ष ओमप्रसाद थापा,महासचिव बीर बलाल र सल्लाहकार क्याप्टेन ताम ढेगाले संयुक्त रुपमा पानसमा दीप बालेर केक काटेका थिए ।
कार्यक्रममा लण्डन स्थित पशुपतिनाथ मन्दिरबाट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले शुभकामना दिए ।
समाजकी सह–कोषाध्यक्ष तारा भट्टराई, मोहन घिमिरे, सरिता पौडेलको सहयोगमा पशुपतिनाथ मन्दिर लण्डनका मूलगुरु निलहरि घिमिरेले गायत्री मन्त्रोच्चारण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
अध्यक्ष टोप पल्लीले संस्थामार्फत फरक क्षमता भएका नेपालीहरुको कल्याणको निम्ती सकेजति सहयोग गर्ने जमर्काे अनुसार च्यारिटी आयोजना गरिएको बताए ।“हाल परिस्थिती जटिल भएपनि वेलायतमा रहनुभएका नेपालीहरुले राम्रो साथ दिइरहनुभएको छ, कोभिडकै समयमा पनि यसरी आर्थिक जम्मा गरी सहयोग गर्न पाउँदा खुशी लागेको छ ।” उनले भने । कार्यक्रममा सहभागिता जनाउने सबै अतिथि, समाजका अग्रज एवम् सहयोगीहरुमा आभार प्रकट गरे । कार्यक्रम सफल पार्न दिनरात खटिने कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवम् सहयोगदाता सबैलाई उनले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।अध्यक्ष पल्लीले सामाजिक योगदानको निम्ती कुनै पनि कुरामा पछि नहट्ने बताए ।
संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाले अपाङ्गता भएका ब्यक्तिहरुको सहयोगको निम्ती एउटा सानो प्रयास स्वरुप थालिएको च्यारिटीले १० बर्ष पार गरेकोमा खुशी व्यक्त गरे । “मातृभूमिका फरक क्षमता भएका व्यक्तिहरुको लागि परिकल्पना गरेर सहयोग गर्न जुट्ने कोशिस गरेको हौँ,र यहाँसम्म आइपुगेका छौँ।” उनले भने, “यस मानवियताको कार्यमा साथ दिने सबै दानवीरहरुलाई धन्यवाद दिन चाहान्छु।”
उनले बेलायतमा बजिरहेको प्रथम गुल्मेली नौमतिबाजा अभियानले गुल्मेली नौमतिबाजाको शान समेत बढाएको भन्दै च्यारीटि कार्यक्रमलाई टेवा पुर्याउने गरी नौमति बाजा शुरु गरिएको समेत बताए । 
उपाध्यक्ष तारानाथ भण्डारीको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा सचिव मञ्जु भण्डारीले फरक किसीमले सक्षम हामी असक्षम त छदै छैनौँ भन्ने भाव सहितको कविता वाचन गरेकी थिइन् । त्यस्तै विमला राईले पनि विजय शीर्षकको कविता वाचन गरेर सुनाएकी थिइन् ।
एलिशा लामा राई र बेनिका पुन काउछाले अपांगता दिवस विशेष सिर्जना सुनाएका थिए।
संस्थाका कोषाध्यक्ष बरुण भण्डारी तथा सहकोषाध्यक्ष तारा भट्टराईले च्यारेटीमा जम्मा भएको रकम विवरण जानकारी गराएका थिए ।कोषाध्यक्ष बरुण भण्डारीले च्यारीटिमा २७ सय पाउण्ड (४ लाख रुपिया बढी) रकम संकलन भएको लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
संस्थाका महासचिब वीर बलालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजका प्रबक्ता रुद्र थापाको प्राबिधिक सहयोग रहेको कार्यक्रमको प्रतक्ष्य प्रसारण लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिब भण्डारीले गरेका थिए।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु अर्जुन गौतम र राम गलामी, सल्लाहकार केशव भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।एनआरएनए यूकेका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार प्रेम गाह मगरले गुल्मी जिल्ला सामाजको यूकेमा महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा पनि यसलाई प्रभावकारी रुपमा अघि बढयाउन आग्रह गरे ।
सन् २०१० देखि हरेक वर्ष अपाङ्गता दिवसको अवसरमा शुरु गरिएको च्यारिटी कार्यक्रमबाट संकलित रकम संस्थाले अपाङ्गता भएका व्यक्तिहरुको कल्याणको निम्ती खर्च गर्दै आएको छ ।कार्यक्रममा संस्थाका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवि, लगायत नेपाल र अन्य देशबाट पनि सहभागिहरु जेडिएका थिए ।






