काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई उनकै निर्वाचिन क्षेत्र चितवनमा आफ्नै कार्यकर्ताले लखेटेका छन् ।
राप्ती नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै गरेका नेता पाण्डेमाथि केही व्यक्तीहरूको समूहले नाराजुलुस गर्दै लखेटेका हुन् ।
यस घटनालाई नेकपाभित्रको गुटगत विवादका रुपमा लिइएको छ ।नेता पाण्डेले पार्टी एकता विरोधी अभिव्यक्ति दिएको भन्दै केही कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। पाण्डे नेकपाभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन्।
यसैबिच नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले नेता पाण्डेविरुद्ध भएको नाराबाजीको भर्त्सना गरेका छन्। शनिवार एक विज्ञप्ती जारी गर्दै उनले पाण्डेविरुद्ध सुनियोजित रुपमा केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको भन्दै छानविन गरी कडा कारबाही गर्न पनि माग गरेका छन्।
विज्ञप्तीमा भनिएको छ, “सभ्य, सुसँस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु।” राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए। उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैन लगायतका नारा लगाएका थिए।
नेकपा नेता सुरेन्द्र पाण्डेलाई उनकै कार्यकर्ताले लखेटे






