एमाओवादीलाई सरकारमा ल्याएर असारमा संविधान जारी गछौं : कृष्ण सिटौला

विराटनगर, ९ बैशाख। नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले आगामी असारमा नयाँ संविधान जारी गर्ने बताएका छन् ।
krishna-sitaulaविराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सिटौलाले तीन दलबीच संघीयताका विवादित विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्ने समझदारी भएकाले असार सम्ममा नयाँ संविधान जारी हुने दाबी गरे ।

बैशाख १५ गतेदेखि संविधानसभाका विवादित विषयहरुमा छलफल अघि बढ्ने भन्दै सिटौलाले छलफलका विषयलाई जनतासम्म पुर्‍याएर जनताको राय संकलन गरी असारसम्ममा नयाँ संविधान जारी दृढता व्यक्त गरे ।

तीन दलीय मोर्चाबीच सहमति भएकाले संविधान जारी हुने कुरामा दुविधा हटेको भन्दै सिटौलाले एमाओवादीलाई सरकारमा लगेरै भएपनि संविधान बनाउने बताए । ‘माओवादीलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ, तर कुनै सहमति भएको छैन्, संविधान निर्माणका लागि राष्ट्रिय सरकार बनाउन हामी तयार छौं’ सिटौलाले भने-‘माओवादीलाई मनाएर संविधान बनाउँछौं ।’