संविधानसभामा शोक प्रस्ताव

काठमाडौं, ६ वैशाख । संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताब पारित गरेर स्थगित हुने भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक राप्रपाका वरिष्ठ नेता सुर्यबहादुर थापाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित हुने संविधानसभा सचिवालयले जानकारी दिएको छ । ५ पटक प्रधानमन्त्री भएका थापाको बुधबार भारतमा उपचारको क्रममा निधन भएको थियो । संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले दलहरुसँगको परामर्शपछि बैठक कति दिन स्थगित हुन्छ भन्ने एकिन हुने जानकारी दिनुभयो । यसअघिका तिनवटा बैठक पनि पूर्वसांसद् तथा सभासद्को निधनका कारण शोक प्रस्ताव पारित गर्दै स्थगित भएका थिए । बैठक स्थगित भएको समयलाई विवादित विषयमा सहमतिका लागि सदुपयोग गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आग्रह गर्नुभए पनि राजनीतिक दलहरुबीच औपचारिक संवाद हुन सकेको छैन ।