काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले आज पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न दशरथ रङ्गशालामा पुग्नुभएको थियो । नेता थापाप्रति राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट सम्मान व्यक्त गर्नुभएको हो । सार्वजनिक श्रद्धाञ्जलिका लागि ज्येष्ठ सभासद् थापाको पार्थिव शरीर आज अपराह्न १ बजेदेखि दशरथ रङ्गशालामा राखिएको छ ।
सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री कोइरालाले पञ्चायतकालमा पनि थापा कसरी सुधार गर्न सकिन्छ भनेर निरन्तर लागेको बताउनुभयो । थापा मुलुकको शान्ति, लोकतन्त्र र स्थायित्वका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली काँग्रेसबाट सुरु भएको थापाको राजनीतिक यात्रा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशितालाई स्वीकार गर्दै हरेक परिवर्तनमा प्रजातन्त्रको पक्षमा नै रहेको थियो ।” उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ । नेता थापाको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको थियो ।
प्रधानमन्त्रीद्वारा राष्ट्रिय झन्डा ओढाएर थापाप्रति श्रद्धाञ्जलि






