तक्दीर अधिकारी, सिड्नी ।
नेपालको सिन्धुपाल्चोक घर भइ अष्ट्रेलियालाइ कर्मथलो बनाएका नेपाली पत्रकार ऋषि आचार्यलाइ यहाँको सरकारी निकायले सम्मान गरेको छ। न्यु साउथ वेल्स राज्य परिषदले सञ्चालन गरेको द सेन्टर फर भोलन्टियर नामक अर्ध सरकारी निकायले हरेक बर्ष प्रदान गर्ने भोलन्टियर अफ दि इयर अवार्ड यस बर्ष आचार्यलाइ प्रदान गरेको हो ।
आजभन्दा १२ बर्ष अघि अष्ट्रेलियामा आएका आचार्यले यहाँ पत्रकारीता सँगै देशलाइ आवश्यक पर्ने स्वयंसेवाका कामहरु गर्दै आइरहेका थिए । विशेष गरी मिडिया, कोरोना महामारी, आपतकालिन राहत लगायतका कामहरुमा उनले निभाएको स्वतस्फुर्त भुमिकालाइ सरकारले सम्मान गरेको हो । विगतका बर्षहरुमा मन्त्रीहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेर नै अवार्ड वितरण गर्दै आइरहेको भएपनि यस पटक भने महामारीको कारण औपचारिक कार्यक्रम भने हुन पाएन् । आफुले इमेल मार्फत सो अवार्डको बारेमा जानकारी पाएको आचार्यले बताए ।लण्डन नेपाल न्युज संगको कुराकानीमा आचार्यले यस अवार्डले आगामी दिन आफुलाइ सामाजिक कार्यमा अझै सक्रियता पूर्वक लाग्न हौसला मिलेको बताए । उनी हाल अष्ट्रेलिया स्थित नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिस्ट एसोसियसन एन्जाका सहअध्यक्ष समेत हुन् । त्यतिमात्र नभएर गैरआवासीय नेपाली संघमा रहेर पनि उनले महत्वपुर्ण भुमिका निर्वाह गरे । नेपाली नागरिकहरुको हकहितमा उनले निभाएको भुमिकाको अष्ट्रेलियामा रहेका नेपालीहरुले खुलेर प्रशंसा गर्ने गरेका छन् ।






