ललितपुर । गत बिहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार आज रथ तानिने भएको छ ।
कोरोना जोखिमको अन्यौलको बीचमा छोटो कार्यविधिबाट जात्रा सम्पन्न गर्ने सहमति अनुसार आज दिउँसो ३ बजे पुल्चोकको सोह्रखुट्टे पाटीसम्म रथ तानिने भएको हो । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ। दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पु¥याइनेछ ।
पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०/४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् । रथ तान्नेहरुको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ ।
त्यस्तै मच्छिन्द्रनाथ र मीननाथको रथ सँगसँगै बस्नको लागि ज्यापू समाज यल, नेपालभाषा मंका खल यल, १९ वटा जातीय समूहका अध्यक्ष, ललितपुर महानगरपालिकाका मेयर, उपमयेर, सांसद, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गुठी संस्थानका प्रमुख, जात्रा व्यवस्थापनका संयोजकलगायत गरेर १२२ जना बस्ने भएका छन् । त्यस्तै किरण डंगोलको संयोजकत्वकमा गाःबहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुग समिति, लंगया समिति, जावलाखेल समिति, विभिन्न जातीय समूहको तर्फबाट १२४ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।
स्वास्थ्य सुरक्षाका लागि पाँच सय वटा मास्क, पन्जा र भाइजर तथा १५ लिटर स्यानिटाइजर व्यवस्था गरिने भएको छ। ५ जोर धिमे बाजा बजाउनको लागि २० जना, काः बाजा बजाउने ४ जना र २ जोर नायखिं बाजा बजाउनको लागि ४ जनाको टोली तयार गरिने भएको छ ।






