सोनी श्रेष्ठ/काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएका चैत पहिला साता सञ्चालन भइरहेको स्नातकोत्तर तह (एमबीएस) चौंथो सेमेष्टरको परीक्षा अनलाइन गर्ने तयारी गरिरहेको छ । सम्भव भएसम्म अनलाईन विधिबाट परीक्षा लिने त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले जानकारी दिए ।
चौंथो सेमेष्टरपछि गर्नुपर्ने शोधपत्र लेखनलाई परीक्षा अगाडि गर्नसक्ने र अनलाइन भाइवा गर्नसक्ने समेत उनले बताए । यस्तै, त्रिवि अन्तर्गतका स्नातक तहका परीक्षाहरु दशैं अगाडि हुने सम्भावना नरहेको त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालले बताए । परीक्षाको ३५ दिन अगावै सूचना प्रकाशित गर्नुपर्ने भएकोले हाल नेपालमा बढ्दो संक्रमण दरका कारण परीक्षा दशैं अगाडि सम्भव नभएको उनले बताए ।
परीक्षाको विषयलाई लिएर गलत सन्देश नफैलाउन आग्रह गर्दै उनले विद्यार्थी संख्या थोरै रहेको संकायको हकमा दशैं अगावै परीक्षा लिनसक्ने सम्बन्धमा डिन कार्यालयमा छलफल भइरहेको समेत बताए ।






