काठमाण्डौ ।
स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण आज बिहानैदेखि काठमाडौं उपत्यका सुनसान देखिएको छ।
कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहने छ । गएराति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा लागु गरिएको हो। निषेधाज्ञाका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरूको आवत जावत ठप्प छ ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, दुग्ध र तरकारीका गाडी बाहेकका कुनैपनि सवारी सडकमा गुडेका छैनन् । सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेको छ ।
ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ । तीनवटै जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन्। मर्निङ वाकमा समेत ननिस्कन अपिल गरिएको छ।
अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ।अत्यावश्यक सामग्री लगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पनि निषेध गरिएको छ।
त्यस्तै फुतपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न समेत बन्देज लगाइएको छ। निषेधाज्ञाको अवधिमा होटल, रेष्टुराँ सञ्चालन गर्न पाइने छैन। तरकारी तथा खाद्यान्नको पसल पनि बिहान ७ बजेसम्म मात्रै खोल्न दिइएको छ ।






