सिड्नी । अस्ट्रेलिया सरकारले थप सहज बनाउँदै अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने कार्य पुनः सुचारु गरेको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन देशमा लकडाउन भएसँगै अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा दिने कार्य स्थगित गरेको थियो ।
अस्ट्रेलियन सरकारका कार्यवाहक आप्रवास मन्त्री अलान टड्ज र शिक्षामन्त्री डेन ट्यनले संयुक्त रुपमा सोमबार जुलाई २० तारिखबाट विभिन्न पाँचवटा मापदण्ड तय गरेर अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने कार्य सुरु गरेको बताएका थिए । शिक्षामन्त्री ट्यनले भने, ‘भिसा प्रकृयालाई जटिल बनाउने हो भने अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया आउन कठिन हुनेछ । अन्तर्राष्ट्रिय विद्यार्थीबाट वार्षिक अर्बौ डलर सरकारलाई प्राप्त हुने मात्र होइन, सत्कार, विभिन्न व्यवसायिक क्षेत्र र अस्पताललगायतका क्षेत्रमा लाखौं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।’
यस्ता छन् पाँच नयाँ मापदण्ड
– अस्ट्रेलियन सरकारले देश बाहिरका सबै स्थानबाट विद्यार्थीलाई भिसा दिने कार्य पुन सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय सिमा खुल्ने वित्तिकै विद्यार्थीहरु अस्ट्रेलिया आउन पाउने भएका छन ।
– अन्तर्राष्ट्रिय बिद्यार्थीले कोभिड -१९ को कारण बर्तमान भिसा अवधि भित्र पढाइ पुरा गर्न नसकेको खण्डमा भिसा थप्न निः शुल्क भिसा आवेदन दिन पाउने छन् ।
– भिसा लिएर पनि कोभिड-१९ का कारण अस्ट्रेलिया बाहिरबाटै अनलाईन मार्फत आफ्नो पढाई गरिरहेका विद्यार्थीहरुले सो पढाईको अवधीलाई पढाई पछिको कामको भिसाका लागि उपयोग गर्न पाउनेछन् ।
– ग्राजुएट गरिससकेका तर अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर पनि कोभिड-१९ कारण अस्ट्रेलिया आउन नपाएकाहरुले पढाई पछिको कामका लागि भिसाको आवेदन दिन सक्नेछन् ।
– कोभिड-१९ कारण अंग्रेजी भाषा परिक्षाको परिणाम प्रभावित भएकाहरूको लागि अतिरिक्त समय दिने निर्णय समेत गरिएको छ ।
अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रकृया सुरु गरेको छ, यो प्रकृयाले नेपाली विद्यार्थीलाई पनि राहत पुग्ने विद्यार्थी नेता तथा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) का पूर्व राष्ट्रिय अध्यक्ष विजय सापकोटाले बताए ।
सरकारले सुरु गरेको भिसा प्रकृयामा पाँचवटा परिवर्तन भएको छ, जसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई ठूलै राहत दिने छ । अस्ट्रेलियामा अनलाइन पढेर विदेशमा अड्किएका छन् भने उनीहरुको भिसा थप्नका राहत पुग्नेछ । सरकारले यो प्रकृया लागू गर्नु एकदमै राम्रो हो, पूर्वअध्यक्ष सापकोटाले लन्डन नेपाल न्यूजसँग भने, ‘अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अस्ट्रेलियन सरकारले अझ धेरै काम गर्न बाँकी छ ।’
विद्यार्थी भिसा भएकाहरु बाबुआमा भेट्न नेपाल गए, लकडाउनमा उनीहरु उतै अड्किए, अस्ट्रेलिया आउन मिलेको छैन भने उनीहरुलाई आउने बाटो खुलेको हो, ओपल कन्सल्टिङका निर्देशक विवेक थापाले भने, ‘यो प्रकृया लागू भएपछि अब उनीहरुको भिसा नवीकरण निःशुल्क हुन्छ । मापदण्ड पूरा गरेका विद्यार्थीले भिसा पनि सजिलै प्राप्त गर्ने छन् ।’
अब नेपालबाट अस्ट्रेलिया आउन खोजेकाहरु पनि प्रकृया अगाडि बढ्ने छ, निर्देशक थापाले भने, ‘मापदण्ड पूरा भएकाहरुले भिसा पाउने छन् । हवाइ उडान सुचारु भएपछि उनीहरु अस्ट्रेलिया आउन पाउने छन् । नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने घोषणा गरिसकेको छ ।’
अस्ट्रेलिया सरकारले लागू गरेको यो नयाँ प्रावधानले कोरोना संक्रमण बाट असर परेको सबैलाई सजिलो बनाइदिएको छ । यो संक्रमणकालीन व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको व्यवस्थापन भएकाले कोरोना संक्रमण अन्त्य भएपछि यो व्यवस्था हट्न सक्छ ।






