बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जनाको नामावली

लन्डन । बेलायतबाट नेपाल फर्कनका लागि ३९१ जना नेपालीको विवरण नेपाल सरकारलाई पठाइएको  छ ।लकडाउनका कारण बेलायतमै रोकिएका र नेपाल फर्किनपर्ने अवस्था रहेको भन्दै लन्डनस्थित नेपाली दूतावासमा नाम दर्ता गरेका ३ सय ९१ जनाको विवरण सोमबार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

महामारीका बेला विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काउने नेपाल सरकारको नीतिअनुसार लन्डनस्थित दूतावासले नेपाल फर्किन जरूरी हुनेहरुलाई आफ्नो विवरण बुझाउन आव्हान गरेको थियो ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार बेलायतबाट नेपाल फर्किन चाहनेहरुको सूचीमा सबैभन्दा बढी १ सय ५४ जना भिसा सकिएका वा यही महिना सकिन लागेकाहरु छन् ।

त्यस्तै, रोजगारी गुमाएर बिचल्लीमा परेका ९६ जना तथा विद्यार्थीहरु ५० जना छन् । नेपाल फर्किन खोज्ने विद्यार्थीमा केही अध्ययन पूरा गरिसकेका तर लकडाउनले रोकिएका छन् भने कतिपय अध्ययन पूरा नहुँदै फर्किन चाहने छन् ।

सूचीमा तालिमका लागि आएका नेपाली सेनाका ५ अधिकृत र परीक्षाका लागि आएका २१ जना चिकित्सक पनि छन् ।

त्यसैगरी, अत्यावश्यक कामको लागि नेपाल जानुपर्ने कारण देखाएका बेलायतमै बस्ने विभिन्न ६५ जनाको नाम पनि सूचीमा छ ।

दूतावासले रोजगारी गुमाएर बिचल्लीमा परेका माल्टाका ५ जना र केम्यान आइल्यान्डका ५६ जनाको नाम पनि सरकारलाई पठाइएको जनाएको छ ।

दूतावासमा विवरण बुझाएका र विभिन्न अवस्थाले प्राथमिकतामा परेकाहरुको नाम सरकारलाई पठाइएको प्रवक्ता आरनले बताए ।

तर, सूचीमा हुनेहरुको लागि कहिलेसम्म स्वदेश फर्किने उडान व्यवस्था होला भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उनी बताउंछन् । यसका लागि नेपाल सरकारकै निर्णय पर्खिनुपर्ने उनको भनाइ छ ।

फर्कनेले उडान निश्चित भएपछि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नुपर्नेछ भने नेपाल पुगेपछि १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

विमानस्थल पुगेपछि प्रत्येक यात्रुलाई काठमाडौंको चक्रपथआसपास रहेका होल्डिङ सेन्टरमा राखी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टाइनमा पठाइनेछ । यस्तो परिस्थितिमा टिकटसमेत निकै महँगो पर्ने भएकाले आपत्कालीन अवस्थामा रहेका बाहेक अरूलाई सकभर नफर्कन सुझाव दिइएको उपनियोग प्रमुख आरनले बताए ।