भीएफएमले सिड्नीका १२ सय विद्यार्थीमा पु-यायो राशन, राजदूत दाहालद्वारा प्रशंसा

तक्दीर अधिकारी
सिड्नी । कोभिड–१९ ले समस्यामा रहेका १२ सय नेपाली विद्यार्थीलाई भिजन फर मोटिभेसन (भीएफएम) ले खाद्यन्न सामाग्री उपलब्ध गराएको छ । भीएफएमका संस्थापक महेश प्रसाई (म्याक्स बाबु) ले उपलब्ध गराएको जानकारी अनुसार राहतमा पाँच केजी चामल, दाहाल, चना, अण्डा, आलु र सिंगो लोकल कुखुरा उपलब्ध गराइएको थियो ।

हिजो शनिबार वितरण गरिएको राहतको सुपरिभिजनका लागि राजदूत महेशराज दाहालसमेत सहभागी थिए । उनले यस्तो समस्यामा पनि विद्यार्थीको संगठन भएर विद्यार्थीलाई सहयोग गरेको आफूले प्रत्यक्ष हेर्न पाउँदा खुशी लागेको बताए । जहाँ भए पनि नेपाली मनकारी हुन्छन भन्दै राजदूत दाहालले भीएफएमको कामको खुलेरै प्रशंसा गरेका थिए ।

कार्यक्रममा राजदूत दाहालले विद्यार्थीलाई नआत्तिन हौसला दिएका थिए । यस्तो विषम परिस्थितिमा पनि नेपाली दूतावास क्यानभाराले विभिन्न संघसंस्थासँग समन्वय गरेर समस्यामा परेका नेपालीको सहयोगका लागि काम गरिरहेको बताए ।

जर्नल कन्सुलेट दीपक खड्काले आफू भीएफएमको फ्यान भएको बताए । उनीहरुको लोभलाग्दो समाजसेवाका आफू प्रभावित भएको बताउँदै कन्सुलेट खड्काले भने, ‘म सुरुका दिनदेखि नै भीएफएममा संलग्न छु, भीएफएमले गर्दा आफूलाई सधैं युवा सम्झने गरेको र भीएफएमको कामप्रति आफू एकदमै सन्तुष्ट छु ।’

कार्यक्रममा एक्काका उपाध्यक्ष राजेश जोशी, एनआरएनए उपाध्यक्ष मन केसी, नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, नेप्लिज हिन्दू सोसाइटीका प्रकाश सोढारी, ग्लोबल पिस काउन्सिलका कोअर्डिनेटर डा. भीमसेन सापकोटा, नेपाली जनसम्पर्क समिति न्यू साउथ वेल्स राज्य परिषद्का अध्यक्ष इथान शाक्यको उपस्थिति थियो । भीएफएमले गरेको पुन्य कामको प्रशंसनीय रहेको बताएका थिए । समस्यामा परेका विद्यार्थीलाई पु¥याएको सहयोगको सबेले खुलेर प्रशंसा गरेका थिए ।

सरकारले तय गरेको मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिएको थियो । अस्ट्रेलियन सरकारले अहिले एक स्थानमा १० जनाभन्दा बढी भेला हुन नपाउने नियम बनाएको छ । सहभागी हुन आउने व्यक्तिहरुको हात सेनिटाइज गरेर मात्र प्रवेश गराइएको थियो । एक पटकमा १०–१० जनाको समूह गरेर विद्यार्थीलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा भीएफएमका सबै पदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रममा गरिएको खर्च विवरणहरु सार्वजनिक गरिएको थियो । भीएफएमले अहिलेसम्म ७० हजार डलर बराबरको राहत वितरण गरेको संस्थाक प्रसाईले बताए ।

भीएफएमका संस्थापक प्रसाईले यो राहत नभएर एकजना साथीले अर्को साथीसँग खाना सेयर मात्र गरिएको बताए । झन्डै २० मिनेटसम्म चलेको परिचयात्मक कार्यक्रममा वरिपरी घुमेर सबैले आ–आफ्नो कुरा राखेका थिए ।

लम्पनछप्न्न २ चलचित्रबाट नेपाली रजतपटामा प्रवेश गरेकी नायिका आना ढकालको पनि उपस्थिति थियो । उनी पर्यवेक्षकको रुपमा कार्यक्रममा उपस्थित भएकी थिइन् । भीएफएमको कार्यक्रम नायिका ढकालले खुलेर प्रशंसा गरेकी थिइन् । भीएफएमको आफू फ्यान भएको र भीएफएमलाई जस्तोसुकै परिस्थितिमा सहयोग गर्न तयार रहेको उनले बताइन् ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति न्यू साउथ वेल्स राज्य संयोजक इथान शाक्यले नेपालबाट क्यान्भाराका आउन लागेको विमानमा समस्यामा रहेका अभिभावक र नेपाल फर्कन बाध्य भएकाहरुलाई फर्कने वातावरण मिलाइदिन राजदूत दाहालसमक्ष आग्रह गरेका थिए ।

आफूले यो कामका लागि सरकारीस्तरमा गर्नुपर्ने सम्पूर्ण तयारी गरेको र लगभग काम सम्पन्न हुने जानकारी राजदूत दाहालले दिएका थिए ।

अस्ट्रेलियामा अरु पनि समस्या भएको र विभिन्न निकायसँग समन्वय भइरहेको एनआरएनए उपाध्यक्ष मन केसीले बताए । यस्तै एक्काका उपाध्यक्ष राजेश जोशीले भीएफएमले रुट लेबलमा जुन काम गरेको छ, त्यो एकदमै प्रशंसनीय छ । आउँदा दिनमा भीएफएमसँग मिलेर एक्काले काम गर्ने बताए ।

भीएफएमका कार्यकारी अधिकृत युवराज रिजालले विद्यार्थीको वर्तमान अवस्थाको जानकारी गराउनुका साथै कोभिड–१९ सम्बन्धी गजल सुनाएर सबैलाई भावुक बनाएका थिए । भीएफएमका अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रममा पर्यवेक्षकको रुपमा सहभागी हुनुभएका सबैलाई धन्यवाद दिए ।

बंगाली, पाकिस्तानी र भारतीयले खाद्यन्न सामाग्री उपलब्ध गराएको थियो । कसैसँग नगद नउठाएको, त्यसको सट्टामा खाद्यन्न संकलन गरिएकाले कार्यक्रम सञ्चालनका लागि एकदमै सजिलो भएको भीएफएमका कोषाध्यक्ष रोशन खड्काले बताए । अहिले पनि कुनै विद्यार्थीलाई खाना समस्या छ भने भीएफएमको फेसबुक पेजमा गएर फर्म भरेर सहयोग लिन आउन उपाध्यक्ष सुमन ओलीले आग्रह गरे ।

तस्बिर: भीएफएम फेसबुक ।