रोएको छ धरा
शार्दूलविक्रीडत=छन्द
म स ज स त त गु
sss iis isi iis ssi ssi s
रमेश भट्टराई ,
बाँकी भन्नु छ के लुटे सब कुरा सीमान्त भूभागमा
लाचारी ठहरी कुदृष्टि अहिले स्वाधीन यो भूमिमा
सुस्ता पार गरेर दुर्जन बढ्यो तोडेर सीमाङ्कन
कस्तो हो व्यभिचार नेत्र ननिका राख्यौ छिमेकी किन॥१॥
सत्तामोह यता कुदृष्टि छ उता विस्तारवादी मन
हाम्रो हो सब लिम्पिया किन तिमी ताक्छौ यहाँ लौ भन
रोएको छ धरा प्रभुत्व लुटिँदा स्वाधिनता खोसिँदा
बालौँ धेर मसाल देशभरमा स्वामित्व नै बेचिँदा
॥२॥
सम्झौता असमान हुन्छ जहिले नामर्द नेता हुँदा
सत्ता शासननिम्ति राष्ट्र ममता त्यागेर कुर्सी छुँदा
पुर्खाको बलिदानको समझ हो नावी र गुन्जी सदा
खोक्रा भाषण उच्च उच्चश्वरका सुन्दैछु बेफ्वाँकका३॥
नेताका मतिभ्रष्टले सहिदका इच्छा सबै सिद्धिए
बारम्बार प्रताडना सहिरह्यौ नेता यहाँ के भए
आशामा छ अझै लु लिप्पु लुटिँदा गर्दै पुकारा अब
राष्ट्रोत्थान छ मुख्यकार्य सबको कर्तव्य ठानौँ सब॥४॥
इच्छा यो मनको छ तत्परसधैँ आदेश आमा गर
जङ्गेपिल्लर देशनिम्ति म सधैँ हौँला रहू निर्भर।
पुर्खाको बलिदानले शिर उँचो पारे तिमी गर्वले
आमाको ममता बुझेर मनले खट्दै छु सद्भावले॥५॥






