लहान, २६ चैत । सिरहा र सप्तरीको छुटाछुट्टै स्थानमा आज दिउँसो भएको आगलागीमा डेढ सयभन्दा बढी घर जलेर नष्ट भएको छ । सप्तरीको रम्पूरा मल्हनियाँ गाविसमा भएको भीषण आगलागीमा सिँगो बस्तीनै खरानी भएको छ । रम्पूरा मल्हनियाँ गाविस–५ स्थित दशरथ यादवको घरबाट सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा करिव १०० भन्दा बढी घर जलेर नष्ट भएका छन् भने रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीमा परी स्थानीय रामचरित्र यादव, सत्य नारायण यादव, दिनेश यादव, उमेश यादव, सुखाई यादव, अनिरुद्ध यादव, छेदी यादव, रामेश्वर सुतिहार, रामप्रसाद यादवलगायत ४० परिवारको १०० भन्दा बढी घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट पक्कीदेखि फुसका घरसम्म नष्ट भएका छन् भने चार पशुचौपायासमेत मरेका छन् । आगो नियन्त्रण गर्ने क्रममा दुई जना घाइते भएका छन् ।
अपराह्न ३ बजे लागेको आगो साँझ बजेमात्र नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा लिन राजविराज नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी, सेना तथा सशस्त्र र नेपाल प्रहरी सक्रिय थिए । घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले आगलागीको कारण खुल्न नसकेको तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जानकारी दिनुभयो । स्थानीयले भने बाटोको समस्याका कारण वारुणयन्त्र आउन ढिलाइ भएपछि ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । दुई साता अघि पनि सप्तरीकै कञ्चनरुप नगरपालिका–६ स्थित पडेमारामा भएको भीषण आगलागीबाट ३३ परिवारको ७९ घर जलेर नष्ट हुँदा करिब रु डेढ करोड बराबरको क्षति भएको थियो भने आगलागीमा परी एक जनाको मृत्यु भएको थियो ।
यस्तै, आजै दिउँसो सिरहाको अर्नामा गाविसमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । अर्नामा गाविस–४ स्थित कारी यादवको घरबाट सल्केको आगो नजिकको वस्तीमा फैलदाँ छिमेकी रामगणेश यादवलगायत सातजनाको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगलागीबाट नगद, लत्ताकपडा, भाँडाकुडा र अन्नपात जलेर नष्ट भएको छ ।
सिरहा र सप्तरीमा भीषण आगलागी






