जीएनएन बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा ८३२ जनाको मृत्यु भएको छ । कोभिड-१९ का कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै सङ्ख्या हो । शनिबार मध्यान्हसम्म ५ हजार ६९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
कुल संक्रमितको संख्या ७२ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १८९ नयाँ संक्रमित थपिएका छन् । त्यो अघिल्लो दिनभन्दा १२.७ प्रतिशतले बढी हो। ४ हजार ८७५ जनाको आईसीयूमा उपचार भईरहेको छ भने १२ हजार २८५ जना पूर्ण रुपमा निको भएका छन् । स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। म्याड्रिडमा मात्र २ हजार ७५७ जनाले मृत्यु भएको छ। यो कुल मृत्यु हुने संख्याको ४८ प्रतिशत हो।
राजधानीमा २१ हजार ५२० संक्रमित भेटिएका छन्। म्याड्रिडपछि बढी प्रभावित क्षेत्र क्याटालोनिया हो। सो क्षेत्रमा १ हजार ७० जनाले ज्यान गुमाएका छन्। १४ हजार २६३ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको छ। हालसम्म चारजना नेपालीहरुलाई संक्रमण देखिएको छ। नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो। सो क्षेत्रमा ५ हजार १३६ जना संक्रमित भेटिएका छन् भने २२१ जनाको मृत्यु भएको छ। स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेको नेपाली समाजका अगुवाहरुले बताउंदै आएका छन् ।






