सौरव क्षेत्री,काठमाडौँ
काठमाडौँ उपत्याकाबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस संक्रमणको त्रासले मानिसहरु घर फर्कन थालेका हुन्,काठमाडौँ उपत्याकाबाट दैनिक एक लाखको हाराहारीमा मानिसहरु बाहिरिँदै छन् । बुधबार साँझबाट हालसम्म करिब एक लाखले काठमाडौँ छोडिसकेको नेपाल यातायात व्यवसायी संघले जनाएको छ । उपत्यका भित्रिने यात्रुको संख्या भने कमि आएको छ ।
सरकारले बुधबार २५ जनाभन्दा धेरै मानिस एक ठाउँमा जम्मा नहुन निर्देशन दिएको र एसईई सहितका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपछि मानिहरु घर फर्किन थालेका हुन् ।
नोबेल कोरोना कोभिड-१९ को कारणले राजधानी लगायत अन्य ठुला शहरहरु छोडेर जानेको संख्या दशैं-तिहारमा जस्तै मारामारी छ। तर नेपाल सरकारले यात्रु बाहक बसमा सिट भन्दा बढी यात्री राख्न नपाउने भन्दै जानकारी गराएको छ ।
उपत्यका छाडेर जाने यात्रुहरुको संख्या बढेसंगै नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। काठमाण्डौमा लोकल यात्रुवाहक सवारीसाधन कम मात्रामा चलिरहेको पाइएको छ । त्यसका साथै पेट्रोलियम पदार्थको अभाव भएकाले दिनानुदिन डिजेल-पेट्रोलको लागि लाइनमा सवारी-साधन राखिएको पाइएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउनुहुन्छ।“नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जाने यात्रुको भीड लागेको छ”, उहाँ भन्नुहुन्छ। कोरोनाको सन्त्रासले घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउनुहुन्छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “हरेक मानिसले आफ्नो सुरक्षा आफै गरेर फैलन नदिए कोरोना भाइरस आफै नियन्त्रण हुन्छ।” महानगरीय ट्राफिक महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् भने १८ हजार ४४१ सवारी साधन बाहिरिएका छन् ।
ट्राफिक प्रहरीले भने काठमाडौँबाट बाहिरिनेको संख्या अझै बढ्ने भएकाले हरेक दिनको साँझमा मात्रै यकिन तथ्यांक आउने जनाएको छ ।
नेपाल सरकारले २०७६-१२-५ गते निर्णय गरेअनुसार SEE स्थगित,University परिक्षा स्थगित, स्कुल, कलेज बन्द गर्ने निर्णय गरेको छ।त्यस्तै २५ जना भन्दा बढी एक ठाँउमा भेला हुने स्थानहरु जस्तै;सिनेमा हल, जीम, डान्सबार,रोधी-दोहोरि साँझ ,क्लब आदिजस्ता मनोरंजनात्मक क्षेत्रहरु बन्द गर्न आदेश दिएको छ साथै यात्रु बाहक बसमा सिट भन्दा बढी यात्री राख्न नपाउने भन्दै जानकारी गराएको छ । यो ‘सेमी लक डाउन’ झैं हो त्यसैले यस्तो बेला सबै मिलेर यस्तो घडिमा सरकारको साथ दिइ समाज प्रति बफादार हुन नेपाल सरकारले आग्रह गरेको छ।






