शिब भण्डारी
लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटस्थित रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसीले अल्डरसटको केन्द्रमा रहेको एक ऐतिहासिक भवनलाई अत्याधुनिक सामग्री र प्रविधि प्रयोग गरी नयाँ स्वरुप दिएका छन् । नयाँ भवन निर्माण गरिए सँगै त्यसलाई पुनः सञ्चालनमा ल्याउने तयारी भै रहेको छ । व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको उक्त भवनको शनिबार औपचारिक रुपमा शुभारम्भ गरियो । 
रसमोर बरो काउन्सिलका काउन्सिलर डेभिड क्लिफोर्ड एबं डिपुटी लिडर केन मुसच्याम्पले नयाँ स्वरुप दिइएको सो भवनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै डिपुटी लिडर केन मुसच्याम्पले यो ऐतिहासिक, सूचिकृत भवनलाई मर्मत सम्भार गरी नयाँ स्वरुप दिइएकोमा आफु निकै खुसि भएको बताए। त्यस्तै काउन्सिलर डेभिड क्लिफोर्डले यो ऐतिहासिक भवन आफ्नै आँखा अगाडी भत्कंदै र क्षय हुँदै गइरहेको देखेर धेरै अल्डरशटवासीहरु दुखी भएका तर अहिले यसको पुनर्निर्माण गरिंदा आफुलाई अत्यन्तै खुसी लागेको बताए। प्रवेश केसीले यो भवनमा लगानी गरेर अल्डरशट नगरको विकासमा उनको प्रतिवद्धता पुष्टि गरेको पनि उनले जनाए । 
उद्घाटन समारोहमा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष योगेन्द्र क्षेत्री, पूर्व उपाध्यक्ष शेरबहादुर सुनार, ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष जीव बेलवासे, चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमिन लिम्बू, पिपुल्स मोरगेजका डाइरेक्टर सूर्य गुरुङ, एनआरएन पूर्व आइसीसी सदस्य जयप्रकाश गुरुङ,प्रशान्त खड्का लगायतको उपस्थिति थियो । उपमेयर गुरुङले सो ऐतिहासिक भवनलाई व्यावसायिक रुपमा संचालनमा ल्याइदा यसले स्थानीय अर्थतन्त्र लाई टेवा दिने र रोजगारी सिर्जना गर्ने जनाए। उक्त परियोजनामा सानो लगानी गर्न पाउंदा आफुलाई खुसि लागेको पनि उनले बताए ।
उक्त भवनमा १२ वटा फ्ल्याट सहित कमर्शियल युनिटको बिल्डिङ छ, जसमध्ये ५ फ्ल्याट पुरानो र ७ वटा फ्ल्याट नयाँ बिल्डिङमा बनाइएको छ। भवन निर्माणमा अत्याधुनिक सामग्री र प्रविधि प्रयोग गरिएको केसीले बताए ।भवनका फ्ल्याट भाडामा अथवा बिक्रीका लागि राखिएको छ । केसी विगत १२ वर्षदेखि प्रोपटी व्यवसायमा लागिरहेका छन् । उनी रसमोर बेरोको पहिलो नेपाली काउन्सिलर हुन् ।






