हाम्रा सम्वाददाताबाट काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को नयाँ नेतृत्व अक्षम देखिएको छ । एनआरएनएका ८० शाखाहरूमध्ये पाँच वटा शाखामा संस्थाको साख नै खस्किने गरि घटना हुँदा पनि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले कुनै समाधान गर्न नसकेपछि उनीहरुको क्षमता माथि प्रश्न उठेको हो ।
एनआरएनए अध्यक्षमा कुमार पन्त र महासचिवमा हेमराज शर्मा आएपछि नयाँ ढंगले एनआरएनए अघि बढने अपेक्षा गरिएको थियो । अध्यक्ष पन्त र महासचिव शर्माको नेतृत्वको कार्यसमिति आएपछि बेलायत, दक्षिण कोरिया, मलेसिया, पोर्चुगल र कतारमा समस्या देखिएका छन् । दुई बर्षे कार्यकालमा चार महिना सकिंदा पनि उनीहरु भने आसेपासे कुन पदमा मनोनयन गर्ने भनेर घर झगडामै अल्झिएका छन् ।
घटना नम्बर १ एनआरएनए यूकेमा चार करोड घोटाला भएको समाचार त्यहाँका स्थानीय अनलाईनहरुमा आए । वर्तमान अध्यक्ष पुनम गुरुङले जिम्मा लिएपछि काम अघि बढन सकेको छैन । धेरै केन्द्रलाई गुहारे ।
एनआरएनए महासचिव हेमराज शर्माको बसोवास भएको ठाउँमा यस्ता लफडा हुंदा समेत उनले मिलाउन सकेनन् । केन्द्रमा उजुरी पर्यो, त्यो पनि सुनवाई भएन ।
घटना नम्बर २ एनआरएनए आईसिसि अध्यक्ष पन्तको कर्मभूमिबाट नजिक रहेको पोर्चुगलमा एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पत्रकार पिटे । पोर्चुगलमा कार्यरत नेपाली पत्रकार सविन धिताल (प्रविन) लाई समाचार संकलनका क्रममा कुटपिट हुंदा एनआरएनए चुपचाप छ ।
घटना नम्बर ३ कतारमा एनआरएनए सल्लाहकार डिवि कार्कीले सार्वजनिक रुपमा गाली बेइजती गर्दा एनआरएनए सुतिरहेको छ ।
घटना नम्बर ४ एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्णप्रसाद नेपालले सार्वजनिक रुपमा अपहरण गर्छु भनेर नेपालीलाई धम्क्याउँदा पनि एनआरएनए एक शव्द बोल्दैन ।
घटना नम्बर ५ एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी माथि लाखौं भष्ट्रचारको आरोप लाग्दा एनआरएनए केन्द्र मौन छ । यसैवीच महासचिव शर्माको हस्तक्षेपका कारण आफुले काम गर्न नसक्ने भन्दै पूर्वअध्यक्ष भवन भट्टले भिजिट नेपाल २०२० विशेष समितिको अध्यक्षबाट राजीनामा दिईसकेका छन् । एकपछि अर्को घटनाक्रमलाई हेर्ने हो भने नेतृत्व असफल उन्मुख भएको पुष्टि हुंदै गएको छ ।






