तक्दीर अधिकारी/अनु लामा
सिड्नी । सिड्नीमा नेपाली समुदायले छठ पर्व धुमधामसँग मनाए । एन्जलपार्कको चिप्पिङ छैठी माताको पूजाका लागि धुमधामसँग सिँगारिएको थियो । शनिबार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घय दिइयो र आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घय चढाएपछि छठ पर्व सम्पन्न भयो ।

एसोसिएसन अफ नेपाल तराई (एएनटिए) अस्ट्रेलियाको संयोजकत्वमा छठ पूजा सम्पन्न भएको थियो । सिड्नीमा सन् २०११ देखि नै छठ पर्व मनाउँदै आएको एएनटिएका अध्यक्ष प्रविन चौरसियाले जानकारी दिए ।

यस वर्षको छठ पूजामा झन्डै २ सयभन्दा बढीको उपस्थिति देखिन्थ्यो । पूजामा महावाणिज्यदूत दिपक खड्का तथा एनआरएन एनएसडब्लुका सचिव दिपक पहारीलगायतको उपस्थित थियो । पहिलो पटक यति धेरै जनसमुदाय सहभागी भएको अध्यक्ष चौरासियाले जानकारी दिए । उनले भने, ‘पूजा सम्पन्न भएपछि साथीभाइ भेटघाट हुने र ब्रत बस्ने गरिन्छ । यसपटक ठाउँ परिवर्तन भएकाले पनि पूजामा धेरैको सहभागिता भएको पाइयो ।’
सुरुका दिनमा २०–२५ जना छठ पूजामा सहभागी हुन्थे, घर परिवार मिलेर छठ मनाइन्थ्यो, तर अहिले यसको विस्तार भएको छ । आम नेपाली समुदायको यति ठूलो सहभागिताले आगामी दिनमा काउन्सिलसँग मिलेर अझ व्यवस्थित रुपमा छठ पूजा मनाउने योजना रहेको अध्यक्ष चौरासियाले लन्डन नेपाल न्यूज डट कमलाई जानकारी दिए ।

यसपटकको पूजामा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया, तथा सिड्नीमा रहेका नेपाली समुदायसँग समन्वय गरेर मनाइएको अध्यक्ष चौरासियाको भनाइ थियो । यति धेरै सहभागिताले आफूलाई थप उत्साहित बनाएको उनले बताए । विज्ञान र प्रविधिले गर्दा सबैलाई समेट्न सजिलो भएको जानकारी दिँदै अध्यक्ष चौरासियाले भने, ‘एएनटिएले नेपाली समाजमा दिएको योगदान महत्वपूर्ण छ । विशेष गरी समस्यामा परेका विद्यार्थीलाई हाम्रो संस्था एएनटिएले सहयोग गर्दै आएको छ ।

एनआरएनए अस्ट्रेलियाका युवा संयोजक ईसाद अहमदले आफू पनि जनकपुरकै भएकाले पनि छठपर्व लाई नजिक बाट हेरेको बताए । युवाहरुलाई समेटेर आफ्नो परम्परालाई अघि बढाउँदा हाम्रो संस्कार र संस्कृति जीवन्त हुने उनले बताए । यस्तै एएनटिएका सहकोषाध्यक्ष अञ्जु साहले पर्वलाई मनोरञ्जनात्मक ढंगले मनाउने हो भने अझ युवालाई अझ आकर्षित गर्न सकिने बताइन् ।

छठ पर्वको विगत सम्झदै पूर्वअध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य अरुण ठाकुरले भने, ‘सुरुका दिनमा छठ पूजामा प्रसाद वितरण मात्र हुन्थ्यो, हामीले हाम्रो संस्कार र संस्कृतिलाई विस्तारै प्रवद्र्धन गर्दैछौं । अहिले छठ पर्व धेरैको आकर्षण र चासोको विषय बनेको छ ।’ पूर्वअध्यक्ष ठाकुरले भने, ‘छठ पर्व कुनै निश्चित समुदाय वा जातिको होइन, यो पर्वले सम्पूर्ण समुदायलाई समेटेको छ ।’

छठ पर्वमा सहभागी भएका सामाजिक अभियान्ता विनोद पौडेलले भने, विविधतामा एकता भएको नेपाली समाजमा छठ पर्व हाम्रो एउटा महत्वपूर्ण संस्कृति हो । त्यसैले आफू पनि छठ पर्वमा सहभागी भएको उनले बताए । यस्तै अर्को सहभागी तीर्थराज कार्कीले भने, जल, थल र वायुको पूजा हुने छठ पर्व नेपाली समाजको विशिष्ठ पहिचान हो । अन्त्यमा उनले भने, ‘छैठी माताले सबैको कल्याण गरुन् ।’







