सरकार ढलेपनि ढल्छ, एमालेले सरकार छाड्न सक्छ, तर, मनमोहनले सम्बन्धन पाएरै छाड्छ : काउन्सिल अध्यक्ष गौतम

jageshwor-gautamकाठमाडौं – स्वास्थ्य मन्त्रालयको जनसंख्या नीतिको कार्यक्रम सकिएपछि सहभागीहरु बाहिरिइरहेका थिए । बाहिर पानी परिरहेकाले केही सहभागी भने भित्र हलमै थिए । मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतम पनि पानी परेकाले झट्ट बाहिर निस्कन गा¥हो मानिरहेका थिए ।

त्यहीबीचमा एक सहभागीले गौतमलाई भने, ‘आज तपाईंले नेपाल एफएममा दिएको अन्तर्वार्ता राम्रो थियो नि ।’ डा. गौतम फुरुङग परे । डा. गोविन्द केसीको अनसन प्रकरणमा आजै नेपाल एफएममा आफूले दिएको अन्तर्वार्ताको सबिस्तार व्याख्या गरिहाले । त्यसक्रममा उनले डा. केसीप्रति आक्रोश पोखे र भने, ‘सरकार ढलेपनि ढल्छ, एमालेले सरकार छाड्न सक्छ, तर, मनमोहन कलेजलाई सम्बन्धन दिएरै छाड्छ ।’ उनले मनमोहनले सम्बन्धन पाएर डा. केसीको आन्दोलनको उद्देश्य पूरा नहुने पनि बताए ।

डा. केसी एमालेप्रति पूरै पूर्वाग्रह भएको पनि गौतमले आरोप लगाउन छाडेनन् । ‘नेशनल मेडिकल कलेज र पिपुल्स कलेजका विषयमा नबोल्ने तर मनमोहन मेडिकल कलेजको नाम आउनेवित्तिकै किन विरोध गर्ने ?’ गौतमले भने ।

केसीका केही माग सही भए पनि केही माग भने हचुवाको भरमा उठाएको समेत गौतमले ठोकुवा गरे । गौतम डा. केसीप्रति त्यसरी आक्रोशित हुनुको रहस्य उनले त्यही हलमा खुलाए पनि । केसीले आफूलाई भ्रष्टाचारी भनेको भन्दै अदातल जाने तयारी गरिरहेको समेत डा गौतमको भनाई थियो ।

मनमोहन मेडिकल कलेजको नाम सुन्ने वित्तिकै केही मानिसले केसीका नाममा राजनीति गर्ने गरेको पनि गौतमको भनाई छ । गौतमले केसीको माग सही भए पनि राजनीतिक पूर्वाग्रहका विषयमा भने सजग रहन एमालेनिकट चिकित्सकलाई आफूले सचेत गराएको समेत बताए । -दिनेश सुनार