एनआरएन युकेको मतगणना बुधबारदेखि शुरु गर्ने तयारी, उपाध्यक्ष आचार्यले थाले सहमतिको प्रयास

लन्डन। तीव्र विवादका कारण स्थगित रहेको एनआरएन युकेको मतगणना बुधबार देखि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ। शनिवार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भए पनि अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङ तथा वर्तमान अध्यक्ष योग कुमार फगामीको घर रहेको बेजिंगस्टोक मतदान केन्द्रमा एकलौटी बुथ कब्जा गरिएको आरोप अध्यक्षका अर्का उम्मेदवार शेर सुनार पक्षले लगाएको थियो।  बेजिंगस्टोकबाट मतपेटिका ल्याउने बेला सुनार समूहले विरोध जनायो। सो समूहले उक्त मतदान केन्द्रमा पुनः मतदान गराउनु पर्ने अडान राख्दै आएको छ।

त्यस्तै गुरुङ समूहले ह्यारो र अल्डरशट मतदान केन्द्रमा अनियमितता भएको भन्ने उजुरी दियो। प्राप्त उजुरीहरुको छानबिन गर्न समिति बनाउनुको सट्टा निर्वाचन समितिले दुवै पक्ष सहमतिमा नआए आइतबार बिहान १० बजे आफुहरुले राजिनामा दिने चेतावनी दियो। आइतबार बेलुका सम्म पनि कुनै सहमति नबने पछि एकलौटी रुपमा मतगणना गर्ने प्रयास शुरु गरियो। तर त्यसको तीव्र विरोध गरिए पछि प्रमुख निर्वाचन अधिकृत सेवानिवृत्त मेजर डमर घलेले स्वयम्सेवकहरु जुटाएर भए पनि सकभर बुधबार नभए शनिवारबाट मत गणना गरिने जनाएका छन्।

उपाध्यक्ष आचार्यको सक्रियता

यसै बीच केन्द्रिय अध्यक्ष पदका उम्मेदवार तथा वर्तमान उपाध्यक्ष कुल आचार्यले दुवै पक्षलाइ सहमतिमा ल्याई मतगणना शुरु गर्न पहल गरेका छन्। उनले शनिवार तथा आइतबार देखि नै एम्पायर हलमै पुगेर निर्वाचन समितिसंग कुराकानी गरेका थिए। उनले प्राप्त उजुरी माथि छानबिन गरी दुवै समूहको सहमतिमा मतगणना शुरु गर्न उनले जोड दिदै आएका छन्। केन्द्रिय अध्यक्ष भवन भट्टलाइ विश्वासमा लिई आचार्यले पहल शुरु गरे पछि एनआरएन युकेलाइ कब्जामा लिई केन्द्रिय निर्वाचन प्रभावित गर्न लागि परेको अर्को समूहले आचार्य माथि नै दोषारोपण शुरु गरेको छ।

समाधान के त?

लन्डन नेपाल न्युज संग कुरा गर्दै अधिवक्ता गोविन्द बेलबासेले उजुरी आईसके पछि छानबिन गरेर दुवै पक्षको सहमतिमा मतगणना शुरु गरिनु पर्ने उनले बताए । एकतर्फी तरिकाले मत गणना गर्दा त्यसको विश्वसनीयता नरहने र त्यसले नराम्रो संदेश जाने उनले बताए। विवाद रहेका मतदान केन्द्रहरुको मत गणना छुट्टै गर्ने गरी मतगणना शुरु गर्न सकिने पनि उनले जनाए। सकभर छिटो विवाद अन्त्य गरी मतगणना शुरु गर्न एनआरएन युकेका पूर्व अध्यक्षहरु संग निर्वाचन समितिले सल्लाह गर्नुपर्ने पर्यवेक्षकहरुको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *