तक्दीर अधिकारी
सिड्नी । यसपालिको हरितालिका तीज विशेष कार्यक्रम मिन्टो मन्दिरमा भव्यरुपमा मनाइँदैछ । यसपालिकाको तीज कार्यक्रम सोमबार परेको छ । मिन्टो रेल स्टेशनबाट मिन्टो मन्दिरसम्म पुग्नका लागि विभिन्न सामाजिक संघसंस्थाले यातायात सेवा निःशुल्क उपलब्ध गराएका छन् ।
एनआरएन अस्ट्रेलिया न्यून साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद् र मल्टिडाइनामिक रियलस्टेटले संयुक्त रुपमा यो सेवा उपलब्ध गराएका छन् भने झापाली समाज अस्ट्रेलिया, चितवन समाज अस्ट्रेलिया र व्यक्तिगत रुपमा कुशल केसीले पनि यातायात सेवा निःशुल्क उपलब्ध गराएका छन् ।
मल्टिडाइनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेलले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहयोगी गरिरहेको बताए । तीज कार्यक्रममा पनि सहयोग गर्न जरुरी देखिएको उनले बताए । नेपाली समाजले आयोजना गर्ने जुनसुकै कार्यक्रममा मल्टिडाइनामिक सहयोगका लागि तयार रहेको प्रिन्सिपल पौडेलले बताए ।

यस्तै झापाली समाजले पनि निःशुल्क यातायात सेवा उपलब्ध गराएको छ । समाजका अध्यक्ष दिपक चुडालले महिला विशेष पर्व तिजमा सहयोग गर्नु नेपालीहरुको दायित्व भएको बताए । विगतमा पनि समाजले सहयोग उपलब्ध गराएको जानकारी दिँदै आउँदा दिनमा समेत यो सहयोग निरन्तर रहने बताए ।

यस्तै चितवन समाजका अध्यक्ष छवि सापकोटाले सम्पूर्ण हिन्दू नारीहरुमा शुभकामना दिँदै मिन्टो स्टेशनदेखि मिन्टो मन्दिरसम्म यातायात सुविधा उपलब्ध गराएको जानकारी दिए । यो सेवा सोमबार मध्यान्न १२ बजदेखि साँझ ५ बजेसम्म रहने उनले बताए ।

यस्तै युबा समाजसेवी कुशल केसीले पनि यातायात सुविधा उपलब्ध गराएका छन । नेपालीहरु को बद्द्दो जनसंख्या लाई मध्य नजर राखदै सोमबार बिहान ८ बजदेखि मिन्टो रेल स्टेशनबाट मिन्टो मन्दिरसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराएको केसीले जानकारी दिए ।







