प्रेम सम्बन्ध विफल भएपछि निराश बनेका को–पाइलट एन्ड्रियाज लुबिट्सले जर्मन विंग्सको विमान दुर्घटना गराएको खुलासा भएसँगै उनको घरमा खानतलासी गरिएको छ । खानतलासीको क्रममा लुबिट्सको घरबाट चिकित्सकले दिएको ‘प्रेस्किप्सन’ च्यातिएको अवस्थामा फेला परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यद्यपि, उनी कुन रोगका बिरामी थिए भन्नेबारे अझै स्पष्ट भइनसकेको र अनुसन्धान थालिएको पनि अधिकारीहरुले जनाएका छन् ।
यसअघि फ्रान्सेली अधिकारीहरुले पनि को–पाइलटले नियतवश विमान दुर्घटना गराएको दाबी गरेका थिए । दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’को अनुसन्धानबाट फ्रेन्च अधिकारीहरु यस्तो निश्कर्षमा पुगेका हुन् । लुबिट्सले विमान नष्ट गर्न चाहेको देखिएको फ्रान्सका अधिकारीहरुको दाबी थियो ।
ब्ल्याक बक्सको रेकर्ड भएको डाटामा ककपीटबाट बाहिर निस्केका पाइलटलाई को–पाइलटले पुनः ककपीटमा छिर्न नदिइ भित्रबाट ढोका बन्द गरेर आपूmले एउटा बटन थिचेको र त्यसलगत्तै विमान दुर्घटनामा परेको पाइएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । एभिएसन डाटा फलो गर्ने वेबसाइटका अनुसार ३८ हजार फिटमा सेट गरेर ‘अटोपाइलट’मा छाडिएको विमानलाई नियतवश एक सय फिटको उचाईमा ‘रिप्रोग्रामिङ’ गरेर छाडेको पाइएको छ ।
घटनाको छानबिनका लागि फ्रेन्च अधिकारीहरुले अमेरिकी संघीय जाँच ब्यूरोसँग पनि सहायता मागेका छन् । सहचालक लुबिट्सको कतै आतंकवादीसँग संलग्नता छ की भन्ने खोजी गरिए पनि त्यसको पुष्टि हुने तथ्य नभेटिएको अधिकारीहरुले जनाएका छन् ।
स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडर्फका लागि १ सय ५० यात्रु लिएर उडेको एअरबस ‘ए ३२०’ विमान फ्रान्सको दक्षिणी पर्वत एल्प्समा दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक दलका ६ सदस्य र १ सय ४४ यात्रु गरी १ सय ५० जनाको मृत्यु भएको थियो ।
को–पाइलटको घरमा खानतलासी






