बेलायत छाडेपछि मिरुनालाई नेपाल फाप्यो

लामो समयदेखि बेलायतमै बस्दै आएकी मिरुना मगर पछिल्लो समय नेपालमा व्यस्त हुन थालेकी छन् । स–परिवार बेलायत बस्दै आएकी मिरुनालाई नेपाली चलचित्रले नेपालमै बस्ने वातावरण तय गरिदिएको हो । अवसर छैन भन्दै प्लस टु सकाए लगत्तै पासपोर्ट बनाउन लाइन लाग्ने युवा युवतीका लागि उनी एउटा उदहारण पनि हुन् ।

उनको नयाँ चलचित्र ‘साइनो’ यही २४ साउन अर्थात् आउँदो शुक्रबार (फ्राइडे रिलिज) देशव्यापी रिलिज हुँदैछ । दुई वर्षअघि चलचित्र ‘लालपुर्जा’बाट उनले अभिनय यात्रा सुरु गरेकी हुन् । उनको अभिनय क्षमता देखेर निर्देशक निगम श्रेष्ठले चलचित्र लालपुर्जामा मिरुनालाई नायिकाको रूपमा लिएका थिए । विपिन कार्की, सौगात मल्लजस्ता कलाकारहरूको नायिका भएर काम गर्दा उनले निकै मेहनत गर्नु प–यो । व्यवसायिक रूपमा लालपुर्जा हिट नभए पनि सो फिल्ममा आफ्नो अभिनय दर्शकले मन पराएको यी अभिनेत्रीले बताइन् ।

चलचित्र साइनोमा मिरुनाले नव अभिनेता राजकुमारसँग काम गरेकी छन् । भारतमा विभिन्न टेली फिल्म तथा मोडलिङ क्षेत्रमा काम गरिसकेका राजकुमारसँग चलचित्र साइनोमा आफूले पनि राम्रो काम गरेको मिरुनाले बताइन् । साइनो मिरुनाको तेस्रो फिल्म हो । लालपुर्जा पछि उनले चलचित्र लाहुरेमा काम गरे पनि उनी र निर्देशक निगमको त्यो फिल्मको छायांकनको क्रममा मनमुटाव भयो । निर्माता सुनिल रावलसँग समेत निर्देशकको मनमुटाव बढेपछि चलचित्र लाउरे रोकियो ।

त्यसपछि आफूले अभिनेता प्रदीप खड्कासँग चलचित्र ‘रोज’मा काम गरेको अभिनेत्री मिरुनाले बताइन, ‘चलचित्र रोज व्यावसायिक रूपमा ठीकठाक मात्र भयो । तर, प्रदीप खड्कासँग काम गर्दा मैले पनि रोजबाट धेरै नै चिनिने अवसर पाएँ ।’ उनले भनिन् । रोजले दिएको चर्चा पनि नेपाली चलचित्रप्रति आफ्नो आकर्षक अझ बढेको पनि मिरुनाले बताइन् ।

बेलायतको सुखी जीवन छाडेर नेपाली फिल्ममा संघर्ष गरिरहेकी यी अभिनेत्री चलचित्र क्षेत्रमै केही गर्ने पक्षमा छिन् । त्यसैले आफूले सबै कुरा छाडेर चलचित्रमा लागेको पनि उनले बताइन् । बेलायतमा व्यवस्थापनमा स्नातक गरेकी उनलाई त्यहाँ राम्रो जागिरको प्रस्ताव पनि आएको थियो । जागिरभन्दा उनलाई अभिनय मोहले नेपालमा रोकेर राख्यो ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले नयाँ चलचित्र साइनोमा नायिकाको प्रस्ताव गर्दा आफूलाई निकै गर्व लागेको उनले बताइन, ‘नेपाली चलचित्रको प्रथम नायिकासँग काम गर्न पाउनु मेरा लागि ठूलो अवसर भएका कारण पनि भुवन दिज्यूको फिल्म साइनोमा उहाँसँग काम गरें । यो फिल्ममा मैले यसअघिका फिल्मको भन्दा अझ राम्रो काम देखाउने मौका पाएकी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *