लन्डन- बेलायतमा बोरिस जोन्सन प्रधानमन्त्री बन्ने भएका छन्। कन्जरभेटिभ पार्टी नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा जित हासिल गरेपछि जोन्सन प्रधानमन्त्री बन्ने पक्का भएको हो । उनले बुधबार पद सम्हाल्नेछन् । थेरेसा मेको कार्यकालको आज अन्तिम दिन हो।
ब्रेक्जिट मुद्दामा ‘हार्डलाइनर’ मानिएका र लण्डनका पूर्व मेयर जोन्सन सत्तारुढ कन्जर्भेटिभ पार्टीका ९२ हजार १ सय ५३ मत ल्याएर नेतृत्वका लागि निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी विदेश मन्त्री जेरेमी हन्टले ४६ हजार ६ सय ५६ मत ल्याएका थिए। जोन्सन विजयी हुने पक्का भएपछि बेलायती मन्त्रिपरिषद्का कानुन मन्त्री फिलिप हमन्ड, शिक्षा मन्त्री एने मिल्टनले राजीनामा दिएका छन्।
जोन्सनको विजयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ट्वीटमार्फत् बधाई दिएका छन् ।






