भक्तपुर, १० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले स्थायी कमिटीको बैठक आन्तरिक तयारी नपुगेको भन्दै बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल र विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपानेलगायतका नेता निर्धारित समयमै ओली निवास पुगेपनि आन्तरिक छलफल जारी रहेको र तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो ।
बैठक स्थगित भएपछि यसबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले पार्टीभित्रको जिम्मेवारी मिलाउने क्रममा तलमाथि नहोस् भनेर थप तयारी गर्न बैठक भोलिसम्मका लागि स्थगन गरिएको बताउनुभयो । अध्यक्ष ओलीको निर्देशअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले नेताहरुको कार्य विभाजनबारे स्थायी कमिटीका सदस्यसँग छलफल गर्दा समय लम्बिएको बताउँदै उहाँले भोलि ११ बजे पुनः ओली निवासमा बैठक बसेर निर्णय गर्ने गरी आजको बैठक स्थगन गरिएको बताउनुभयो ।
महासचिव पोखरेलले सबै स्थायी कमिटी सदस्यसँग छलफल गरी सुझाव सङ्कलन गरेर प्रस्ताव ल्याउने बताउँदै न्यौपानेले पार्टीभित्रको विवाद घट्दै गएकाले अबको बैठकमा कार्य विभाजनसम्बन्धी निर्णय हुने दाबी गर्नुभयो । अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पार्टी उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम र सचिव योगेश भट्टराई उपत्यका बाहिर रहेको र पार्टीभित्र आन्तरिक छलफल जारी रहेको बताउँदै बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको बताउनुुभयो ।
आइतबारदेखि लगातार बसेको सो बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनको विषयमा व्यापक छलफल भए पनि निर्णयमा भने पुग्न सकेको छैन । स्रोतका अनुसार बैठकमा कार्य विभाजनमा विवाद भएपछि निर्णयमा पुग्न नसकेको हो । आजको बैठकमा कार्य विभाजन गरी सबैको जिम्मेवारी तोकिने बताइए पनि सहमति भने भएन । अध्यक्ष निवास बालकोटमा भएको बैठकमा नेता नेपाल अनुपस्थित रहँदै आउनुभएको छ ।
एमाले बैठकमा नेपाल पक्षको विरोध






