जितसँगै न्यूजिल्यान्ड सेमिफाइनलमा

काठमाडौं, ७ चैत्र । सहआयोजक न्यूजिल्यान्ड एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा वेस्ट इन्डिजलाई १४३ रनले हराउँदै न्यूजिल्यान्ड अन्तिम चारमा पुगेको हो । न्यूजिल्यान्डले अब हुने सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
न्यूजिल्यान्डको वेलिङ्टनमा शनिबार घरेलु टोलीले दिएको ३९४ रनको विशाल चुनौती पछ्याएको वेस्ट इन्डिजले ३० दशमलव ३ ओभरमा अलआउट हुनुपूर्व २५० रनमात्रै बनाउन सक्यो । उच्च लक्ष्यको दबाब झेलेको वेस्ट इन्डिजले आफ्ना विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई ६१ रनमा गुमाएको थियो । जन्सन होल्डरले ४२ रन जोडेको इन्डिज इनिङ्समा जोनाथन कार्टरले ३२, डारेन सामी र मार्लोन सामुइल्सले समान २७–२७ रनको योगदान दिए ।
बलिङतर्फ न्यूजिल्यान्डका ट्रेट बोल्ट एक्लैले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले मार्टिन गुप्टिलको दोहोरो शतकको मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९३ रनको योगफल तयार पारेको थियो । गुप्टिलले १ सय ६३ बलमा २४ चौका र ११ छक्काको मद्दतमा अविजित २ सय ३७ रन जोडे । यो विश्वकप क्रिकेटको इतिहासमा एकै इनिङ्समा कुनैपनि ब्याट्म्यानले बनाएको सर्वाधिक रनको कीर्तिमान हो ।
यसअघि यो कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा थियो । गेलले २४ फेब्रुअरीमा जिम्बावेविरुद्ध २१५ रन बनाएका थिए ।
गुप्टिल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने न्यूजिल्यान्डका पहिलो खेलाडी र विश्वकप क्रिकेटमा इन्डिजका गेलपछिका विश्वकै दोस्रो खेलाडी पनि बनेका छन् । न्यूजिल्यान्डको इनिङमा रोस टेलरले ४२, केन विलेमसनले ३३ रन बनाए भने उसका विस्फोटक ब्याट्सम्यान ब्रेन्डन म्याक्कुलम खेलको दोस्रो ओभरमै आउट भएका थिए । बलिङतर्फ वेस्ट इन्डिजका जेरोम टेलरले ३ र अन्द्रे रसेलले २ विकेट लिए ।
यो खेलपछि विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । न्यूजिल्यान्डले दक्षिण अफ्रिकासँग खेल्दा अर्को सेमिफाइनलमा साविक विजेता भारत र विश्वकप क्रिकेटको सर्वाधिक सफल टोली अष्ट्रेलिया भिड्नेछन् ।
शुक्रबार भएको क्वार्टरफाइनलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको थियो । यसैगरी, अन्य क्वार्टरफाइनलमा बंगलादेशलाई हराँउदै भारत र श्रीलंकालाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।