एजेन्सी– इक्वेडरले शरणको हैसियत फिर्ता लिएपछि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई व्रिटिश प्रहरीले पक्राउ गरेको छ । असान्जलाई लण्डनमा रहेको इक्वेडर दूतावासबाट पक्राउ गरेको हो । उनी त्यहाँ सन् २०१२ देखि शरण लिइरहेका थिए ।
असान्जलाई दूतावासको ढोकासम्म कर्मचारीहरुले बोकेर ल्याएका थिए । त्यसपछि लण्डन प्रहरीले उनलाई हिरासतमा लिएका थियो । उनलाई केन्द्रीय लण्डनको प्रहरी केन्द्रमा राखिएको छ ।
हिरासतमा लिदैं गर्दा असान्जले ‘संयुक्त अधिराज्यले ट्रम्प प्रशासनको यो कदमलाई प्रतिरोध गर्नुपर्छ,’ भनेर कराएका थिए । असान्जलाई दिइएको शरणको हैसियत फिर्ता लिने विषयमा केही समयदेखि लण्डन र क्वीटोबीच वार्ता चलिरहेको हल्ला चलेको थियो ।






