शिब भण्डारी / लन्डन

लन्डन मेयरको कार्यालय सिटी हलमा मंगलबार एक भव्य समारोहका बीच कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाईएको छ । कार्यक्रमका मुख्य अतिथि तथा बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले गएको २० वर्षमा शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा हेल्प नेपाल नेटवर्कले पुराएको सेवा प्रशंसनीय भएको बताए । उनले राम्रो कामलाई सघाउन ब्रिटेनवासी नेपालीहरु सधैं अग्रसर रहेको पनि बताए। उनले धन सहितको मन मात्रै हैन, मन सहितको धन पनि चाहिन्छ भन्दै यस्ता कल्याणकारी कामहरुलाई सघाउन सबैलाई आग्रह पनि गरे ।

गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य ले महिना मा एक पौण्ड वा एक डलर उठाएर पनि नेपालमा विपन्न समुदायको हितमा काम गर्न सकिदो रहेछ भनेर हेल्प नेपाल नेटवर्कले देखाएको बताए। उनले गैर आवासीय नेपाली संघका ८० ओटा राष्ट्रिय समितिहरुले पनि नेपाल मा च्यारिटीका कामहरु गरिरहेको बताए। उनले नेटवर्कले गर्न लागेको दोलखास्थित राजकुलेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणमा एनआरएनले पनि सघाउने विश्वास दिलाए।

कार्यक्रममा लन्डनका उपमेयर राजीव अग्रवाल, लन्डन एसेम्ब्लीमा लेबर पार्टी का नेता लेन डुभाल, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताले हेल्प नेपाल नेटवर्कले गर्दै आएको कल्याणकारी कामको प्रशंसा गर्दै आगामी दिनमा पनि तिनको निरन्तरताका लागि शुभकामना दिएका थिए। हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले बेलायतस्थित सबै सहयोगीहरुलाई धन्यवाद दिन आफु नेपालबाट आएको बताउंदै दाताहरुको सबै रकम पारदर्शी तरिकाले नेपालमा खर्च गरिने गरिएको र एक रुपियाँ पनि दुरुपयोग नभएको विश्वास दिलाए।

हेल्प नेपाल नेटवर्क’को २० औँ स्थापना दिवसको स्थलगत भिडियो रिपोर्ट:-———-

हेल्प नेपाल नेटवर्कका गतिविधिहरुका बारेमा नेटवर्कका मिडिया संयोजक भगीरथ योगी तथा हेल्प नेपाल नेटवर्क यु केका कोषाध्यक्ष सचिन श्रेष्ठले हेल्प नेपाल नेटवर्क युके शाखाको गतिविधिको बारेमा प्रस्तुति गरेका थिए। कार्यक्रममा नाम्लो ब्याण्डका गंगा थापाले सुमधुर गीतहरु सुनाएका थिए। कार्यक्रमको शुरुमा नेटवर्कका अध्यक्ष डा प्रणव ज्ञवालीले सबै उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए भने नेटवर्कका सदस्य यादव भण्डारीले सबैलाई धन्यवाद दिएका थिए।

हेर्नुहोस स्थलगत तस्बिरहरु:

फेसबुक कमेन्ट