भारत र पाकिस्तानबीच गोली हानाहान, एकजना भारतीय सुरक्षाकर्मी मारिए

नयाँ दिल्ली । भारत र पाकिस्तानबीच तनाव जारी रहेका बेला बिहीबार पाकिस्तानी सेनाको गोली लागेर एकजना भारतीय सुरक्षाकर्मी मारिएका छन् ।

पाकिस्तानी सेनाले नियन्त्रण (एलओसी) मा गोली चलाउँदा भारतीय सुरक्षाकर्मी यशपालको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मु कश्मीरको राजौरी जिल्लाको नियन्त्रण रेखामा गोली चलाएको भारतीय पक्षले दावी गरेको छ । यो विषयमा पाकिस्तानी प्रतिक्रिया आएको छैन ।

भारतले तीनवटा स्थानममा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । उता पाकिस्तानले भने सीमा क्षेत्रमा भारतीय मानवरहित विमान (ड्रोन)बाट भारतले जासुसी गरेको आरोप लगाएको छ ।

पाकिस्तानले भारतीय ड्रोन खसालेकोसमेत दावी गरेको छ ।

जम्मू–कश्मीरको बारामूला, सोपोर र बांदीपुरा क्षेत्रमा भारतीय सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोपोरमा आतंकवादीले प्रहरी बिटमा ग्रेनेड आक्रमण गरेको जनाइएको छ ।

ती आक्रमणमा ३ जना प्रहरी घाइते भएको बताइएको छ । उत्तरी कश्मीरको सोपोर जिल्लाको रफियाबादको बारपोरा क्षेत्रमा एक ग्रेनेड आक्रमण भएको थियो । प्रहरीले आतंकवादी खोजी अप्रेशन चलाइरहेको बेला आतंकवादीले यस्तो आक्रमण गरेको जनाइएको छ ।

गएको फेब्रुअरी १४ मा जम्मु कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । त्यसयता जम्मू कश्मीरमा भारतीय सुरक्षाकर्मीले आतंकवादी खोजी अप्रेशन चलाइरहेको छ ।

भने सो आक्रमणमा पाकिस्तानको हात रहेको भारतको आरोप छ । यही भारतीय आरोपपछि भारत र पाकिस्तानबीच युद्धकै अवस्था बनेको थियो । गएको फेब्रुंअरी २६ मा भारतीय वायु सेनाका लडाकु विमान पाकिस्तान प्रवेश गरेर पाकिस्तानको बालाकोटमा बम खसालेका थिए ।

बालाकोटस्थित जैश ए मोहम्मदको शिविरमा आक्रमण गरेको र त्यहाँ करिब ३ सय आतंकवादी मारिएको भारतीय दावी छ । तर, यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन भने पाकिस्तानले भारतीय वायु सेनाको बमबाट सल्लाका रुखमात्र भाँचिएको बताएको छ ।

२६ तारिखमा भारतीय वायु सेनाले पाकिस्तानमा बम खसालेको जवाफमा पाकिस्तानी वायु सेनाले २७ फेब्रुअरीको दिउँसै भारतीय भूमिमा प्रवेश गरेर बम खसालेको थियो ।

यसपछि दुबै मुलुकबीच युद्धको अवस्था बनेको थियो । यसैक्रममा एक जना भारतीय वायु सेनाका कमाण्डर अभिनन्दन वर्तमान पाकिस्तानी सेनाको कब्जामा परेका थिए ।

तर, पाकिस्तानले ती कमाण्डरलाई फिर्ता गर्दै शान्तिको पहल गरेको थियो ।

आणविक हतियार सम्पन्न दुई मुलुक युद्धकै अवस्थामा पुगेपछि अमेरिकालगायत मुलुकले हस्तक्षेप गराएर सम्भावित आणविक युद्ध टारेका थिए । हाल भारत र पाकिस्तान शान्त देखिए पनि सीमा क्षेत्रमा भने छिटपुट घटनाहरु भइरहेका छन् ।

यसैबीच भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए ।

उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *