काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
उपसभामुख डा. तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम नारीहरुको सुख, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ । “लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार” नारासहित आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।
उपसभामुख डा. तुम्बाहाङ्फेले इतिहासमा राजनीतिक आन्दोलनबाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरु गरिएता पनि हाल आएर यस दिनमा महिला अधिकार, सशक्तिकरण र समानताका सवालमा पनि बहस हुन थालेको बताउनुभएको छ । “सामाजिक, आर्थिक कारणले विश्वमा महिलामाथि हुने उत्पीडन फरक भएपनि अझै पनि धेरै समस्याहरु साझा छन् । राजनीतिक अधिकारदेखि महिलामाथि हुने हिंसाका घटनाको प्रवृत्ति उस्तै छ । तर, विश्व मञ्चमा ढिलै भए पनि पछिल्लो दशक महिलालाई अधिकार सम्पन्न बनाउन र राजनीतिक अधिकार प्राप्तीमा भने नेपालमा उल्लेख्य प्रगति भएको छ,” शुभकामना सन्देशमा भनिएको छ, “नेपालको अहिलेको संविधानले दिएका अधिकार र राज्यका निकायमा महिलाको उपस्थिति भने विकसित मुलुकहरुको तुलनामा लोभलाग्दो छ । हाम्रो मुलुकले लैंगिक समानताका लागि गरेका प्रगतिहरु सुनाउन पाउँदा महिलाहरु गौरवान्वित भएका छन् ।”
संविधानले सुनिश्चित गरेको अंशीय वंशीय अधिकार व्यवहारमा कार्यान्वयन गर्न अहिले भइरहेका प्रयासमा आम महिलाहरुको चासो सकारात्मक रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले नेपालको संविधानले महिलाको हकलाई मौलिक हककोरुपमा स्थापित गरेको स्मरण गर्दै सबै किसिमको विभेद अन्त्य गर्दै समानुपातिक समावेशी र समतामुलक समाज निर्माण गर्ने संकल्प लिएको बताउनुभएको छ । “संविधानले महिलालाई पैतृक सम्पत्ति लगायत सबै विषयमा बिना भेदभाव समान अंशीय र वंशीय हक, सबै प्रकारका महिला शोषणविरुद्धको हक सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक र समान कामका लागि समान पारिश्रमिक तथा समाजिक सुरक्षासम्बन्धी हक शिक्षा स्वास्थ्य रोजगारीमा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हकको प्रत्याभूत गरेको छ,” उहाँले सन्देशमा भन्नुभएको छ ।






