ब्रिटिस गोर्खा सत्याग्रह समितिको आग्रह

काठमाडौं, ५ चैत्र । बेलायती सरकारले भूतपूर्व ब्रिटिस गोर्खाहरुमाथि ‘समान काममा असमान पारिश्रमिक’ नीति लागू गरेको भन्दै ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले न्यायका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिले समान अधिकारका लागि पहल गरिदिन आग्रह गरेको हो । नेपाल र बेलायतबीचको सम्बन्धको प्रमुख आधारको रुपमा रहेका ब्रिटिस गोर्खामाथि भइरहेको विभेदको अन्त्यका लागि सरकारीस्तरबाटै प्रयास आवश्यक भएकोमा समितिले जोड दिएको छ ।
नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको दुई शताब्दी वर्ष मनाउने तयारी भइरहेको बेला यस्तो प्रयास गर्दा सार्थक परिणाम हासिल हुनसक्ने समितिका सदस्यहरुको भनाइ छ । गत वर्ष पूर्वगोर्खा सैनिक ज्ञानराज राईले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसेपछि बेलायती सरकारले भूपू ब्रिटिस गोर्खाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्वदलीय समिति गठन गरेको थियो ।
सर्वदलीय समितिले नेपालमै आएर भूपु ब्रिटिस गोर्खा सैनिक तथा उनीहरुका परिवारको अवस्था अध्ययन गरी १८ ओटा विभेद भएको निश्कर्ष निकाल्दै त्यसको समाधानका लागि बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।