काठमाडौं, ५ चैत । नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनमा क्रियाशील सदस्यको सङ्ख्या यस अघिको भन्दा दुई लाखले बढ्ने भएको छ । विसं २०६७ मा सम्पन्न बाह्रौँ महाधिवेशनमा तीन लाख १७ हजार क्रियाशील सदस्य थिए । पार्टीले यो पटक आसन्न महाधिवेशनमा नीतिगत तहमै विद्यमान सङ्ख्यामा शतप्रतिशत थप गर्ने लक्ष्य राखेको थियो ।
“शतप्रतिशत थप्ने योजना भए पनि वितरित सदस्यताको अन्तिम छानबिन गरिँदा लगभग दुई लाखको सङ्ख्यामा सदस्यता थपिएर सदस्य सङ्ख्या पाँच लाख नाघ्ने भएको छ,” पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले बताउनुभयो । क्रियाशील सदस्यता सङ्ख्या अत्यधिक हुने जिल्लामा झापा, चितवन, कास्की, काठमाडौँलगायतका छन् । झापामा बाह्रौँ महाधिवेशनमा ११ हजार क्रियाशील सदस्य थिए । काठमाडौँमा नौ हजार मात्र रह्यो । यसअघि थोरै सदस्यता भएको जिल्लामध्येका एक मुस्ताङमा २४९ सदस्य भएकामा यसपटक ५०० पुग्नसक्ने देखिएको पार्टी कार्यालय स्रोतले जनाएको छ ।
राणा शासन विरुद्धमा सङ्गठित हुने क्रममा जननायक बिपी कोइरालाको सक्रियतामा २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको गठन भएदेखि नै क्रियाशील सदस्यताको प्रचलन रहेको हो । बिपीको सक्रियतामा २००३ कात्तिक १५ मा बनारसमा बस्ने नेपालीलाई सङ्गठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्था बनारसमा गठन गरिएको थियो । यसको प्रथम अधिवेशन २००३ माघ १२ र १३ गते भएको थियो ।
“तत्कालीन अवस्थामा काँग्रेसका २५ जना साधारण सदस्यले मनोनयन गरेको एक जना व्यक्ति राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि बन्ने र सो व्यक्ति नै क्रियाशील सदस्यका रुपमा रहने व्यवस्था थियो,” मुख्य सचिव तिवारीले भन्नुभयो । तिनताका काँग्रेसको एउटा साधारण सदस्यले दिनको न्यूनतम तीन घण्टा पार्टीका लागि काम गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । विसं २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भएपछि सदस्यता विस्तारलाई थप व्यवस्थित बनाइयो । देशभित्रको चरम दमनका कारण आफ्ना चार–चार वटा महाधिवेशन विदेशी भूमिमा गरेको काँग्रेसले पाँचौँ महाधिवेशन स्वदेशमा सम्पन्न गरेसँगै सदस्यता वितरण कार्य थप व्यवस्थित बनाउने प्रयास गरेको थियो । भूमिगत अवस्थामा बिपीको हस्ताक्षरयुक्त क्रियाशील सदस्यता जिल्लाका पार्टी सभापतिमार्फत उपलब्ध गराइन्थ्यो ।






