काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेको उल्लेख गरेका छन् । उनले मृतकका परिवार,आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।
सांसद वली २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए । गत माघ २३ गते सवारी दुर्घटनामा परी घाइते भएका वलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।
उनको पार्थिव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।






