प्रजातन्त्र दिवस : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको यस्तो छ सन्देश

????????????????????????????????????

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागु हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गरेकी छन् ।

‘आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस्’, सन्देशमा भनिएको छ ।

विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । ‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।’ प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।

समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताएका छन् ।

प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएकाले सबै गम्भीर भएर लाग्न सकौँ भन्ने कामना गरेका छन् । उनले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।

विसं २००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको दिनको सम्झनामा आजको दिनलाई प्रतातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *