लन्डन- साउथ ईस्ट लण्डन प्लमस्टिडमा कंडेल ग्रुपले सञ्चालनमा ल्याएको तेस्रो फार्मेसीको समुदघाटन भएको छ ।
मेयर काउन्सिलर रोयल बरोअफ ग्रीनउइच क्रिस्टिन मेले एक कार्यक्रमका बीच उक्त तेस्रो फार्मेसीको समुदघाटन गर्नु भएको हो।
साउथ ईस्ट लण्डन प्लमस्टिडमा नेपालीको व्यवस्थापनमा अर्को एउटा फार्मेसी खुलेको हो । साउथ ईस्ट लण्डनमा यसअघि नै २ वटा फार्मेसी सञ्चालन गरिरहेको कँडेल ग्रुपले बिगत २ महिना देखि प्लमस्टिड कर्नरमा तेस्रो फार्मेसी सञ्चालनमा ल्याएको हो ।
यसअघि सोगिम फर्मेसीका रुपमा सञ्चालन हुँदै आएको उक्त फार्मेसीलाई टेक ओभर गरेर कँडेल ग्रुपले अब ‘निम ट्री फार्मेसी’का नाममा सञ्चालन गर्न लागेको छ । ग्रुपले साउथ ईस्टकै एबिउडमा सन् २००९ देखि ‘निम ट्रि फार्मेसी’ सञ्चालन गर्दै आएको छ । सन् २०१४ देखि वुल्वीचमा ‘वुल्वीच लेट नाइट फार्मेसी’ पनि सञ्चालित छ ।
अब तीन वटै फार्मेसीलाई ‘निम ट्रि’का नामबाट सञ्चालन गर्ने योजना रहेको कँडेल ग्रुपका प्रबन्ध निर्देशक राजन कँडेलले बताए । एबिउड र वुल्वीचमा जस्तै प्लमस्टिडको फार्मेसीमा पनि नेपाली भाषा बोल्ने नेपाली फार्मासिस्ट र स्टाफहरु रहने बताइएको छ । जसबाट अंग्रेजी भाषा बोल्न नसक्ने बृद्धबृद्धा, भूपू गोर्खा र तीनका परिवार लाभान्वित बन्न सक्नेछन् । नेपालीको बाक्लो बसोबास रहेको साउथ ईस्ट लण्डनमा ठूलो संख्या भूतपूर्व गोर्खा र तीनका परिवारहरुको छ । उनले भने, ‘हामीले फार्मेसीलाई विशुद्ध व्यवसायको रुपमा भन्दा पनि सेवाका हिसाबले पनि लिएका छौं ।

बेलायतमा बस्ने, अंग्रेजी नबुझ्ने विशेषगरी बुढाबुढी र गोर्खाहरुलाई नेपाली स्टाफबाटै सेवा उपलब्ध गराउने हाम्रो मुख्य प्राथमिकता रहन्छ’, कँडेल ग्रुपका प्रबन्ध निर्देशक राजन कँडेलले भने । सुरुका दिनमा प्लमस्टिडको फार्मेसी सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि साँझ ७ बजेसम्म खुला रहनेछ । तर निकट भविष्यमा शनिबार पनि सञ्चालन गर्ने योजना छ । यो फर्मेसीले आवश्यकता अनुसार प्राइभेट डाक्टर बुकिङ, औषधिको होम डेलिभरी लगायतका विशेष सुविधाहरु पनि उपलब्ध गराउनेछ । यो फार्मेसीको सुपरिटेन्डेन्ट फार्मासिस्ट तथा म्यानेजिङ पार्ट्नर दिलाशा श्रेष्ठ छन्।
त्यसअवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टिडका अध्यक्ष सहदेव गिरी, चार्ल्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, साउथ ईस्ट रिजनल तमु धिं लण्डनकी उपाध्यक्ष पार्वती गुरुङ,व्यवसायीहरु मोहन गुरुङ , दिपक श्रेष्ठ,फत्त थापा, यादव भण्डारी लगायतका स्थानीय समुदायका अगुवाले शुभकामना मन्तव्य राख्दै प्लमस्टिड फार्मेसीको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
हेर्नुहोस फार्मेसीको समुदघाटन कार्यक्रमको लाईभ भिडियो:–






