काठमाडौं, ३ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगबारे सर्वोच्च अदालतले गरेको फैसलाले आपसमा फुटेका माओवादीलाई नजिक ल्याएको बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित एमाओवादी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अदालतको फैसलाले आशंका बढाएको भन्दै फैसलाको आलोचना गरे । तर, यो फैसलाले माओवादीलाई नजिक बनाउने काम गरेको उनले विश्लेषण गरे ।
दोस्रो चरणको आन्दोलनबारे छलफल गर्न बसेको बैठकमा प्रचण्डले पार्टीभित्र केही समस्याहरु रहे पनि अब सडक आन्दोलनमा जानुपर्ने बताए । केही दिनयता वार्ता होलाजस्तो देखिए पनि सत्तापक्षले उनीहरुको ९ बुँदे प्रस्ताव मान्न दबाव दिएकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
पुरानै कमाण्डरले आन्दोलन हाँक्ने
एमाओवादी बैठकले चैत २६ गतेसम्म पुरानै कमाण्डको जिम्मेवारी अन्तरगत आन्दोलन गर्ने निर्णय गरेको छ ।
यसअघि प्रचण्डले मध्यकमाण्ड, डा. बाबुराम भट्टराईले पश्चिम कमाण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वीकमाण्डको जिम्मेवारी लिएका थिए ।
आन्दोलन परिचालनका लागि बुधबार सबै कमाण्डको अलग-अलग बैठक गर्ने एमाओवादीले निर्णय गरेको छ ।
मझौला नेताका गुनासा ल्यारक्यालसम्म बैठकमा एमाओवादी नेतृ हिसिला यमी र झक्कुप्रसाद सुवेदीले काठमाडौंमा पार्टीको विवाद हल गर्न नेतृत्वसँग आग्रह गरे ।
केन्द्रीय सदस्य दवेन्द्र पराजुलीले ल्यारक्याल लामालाई सभासद बनाइएकोमा प्रश्न उठाए । रुकुमे नेता राजकुमार शर्मा ‘आँट’ले मलाई किन अहिलेसम्म कुनै जिम्मेवारी नदिएको भन्दै बैठकमा प्रश्न गरे ।






