ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदमा भारी मतबाट अस्वीकृत

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमनसम्बन्धी ब्रेक्जिट सम्झौताको प्रस्ताव बेलायती संसद (हाउस अफ कमन्स) बाट भारी मतले अस्वीकृत भएको छ ।

मंगलबार सांझ भएको मतदानमा सम्झौताको पक्षमा २ सय २ सांसदले मत दिंदा विपक्षमा ४ सय ३२ सांसदको मत परेको छ । विपक्षी लेबर तथा सत्तारुढ कञ्जरभेटिभ र डियुपीका सांसदहरु समेतले सम्झौताको विपक्षमा मत दिएका हुन् । प्रधानमन्त्री मेकै दल कञ्जरभेटिभका १ सय १८ सांसदले सम्झौताको विपक्षमा मत दिएका छन् ।

बेलायतको इतिहासमै कुनै पनि सरकारी प्रस्ताव संसदमा यति ठूलो मतअन्तरबाट अस्वीकृत भएको पहिलोपटक भएको बिबिसीले जनाएको छ । प्रधानमन्त्री टेरेसा मेले संसदमा पेश गरेको सम्झौताको प्रस्ताव अस्वीकृत भएपछि ब्रेक्जिट प्रक्रिया र समग्र बेलायती राजनीति नै अब थप अनिश्चितातर्फ धकेलिएको छ ।

आउंदो मार्च २९ को लागि तोकिएको डेडलाइनभित्र ब्रेक्जिटको प्रक्रिया पूरा हुनेमा गम्भीर प्रश्नचिन्ह लागेको छ । विपक्षी लेबर नेता जेरेमी कोर्बिनले भने प्रधानमन्त्री मेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसदमा हुने निर्वाचनमा प्रधनमन्त्री मेले बहुमत प्राप्त गर्न सके उनी निरन्तर हुन पाउनेछिन् । तर बहुमत प्राप्त गर्न नसके उनलाई बहुमत जुटाउन थप १४ दिनको समय दिइनेछ । दोस्रोपटकको मतदानमा पनि उनी विफल भए आम निर्वाचनको घोषणा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *